
बिर्तामोड– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कसैलाई ढोगेर आफू राष्ट्रपति नबन्ने बताएका छन्।
गृह जिल्ला इलाम जाने क्रममा विहिबार झापाको विर्तामोडमा पत्रकारसामू कुरा गर्दै एमाले नेता खनालले सर्वसम्मत निर्णय भएमात्र आफूलाई राष्ट्रपति पद स्वीकार्य हुने बताए। उनले भने, ‘राष्ट्रपति महत्वपूर्ण पद भए पनि मलाई राष्ट्रपति बनाइदेउ भनेर म हिँड्नेवाला छैन।’
खनालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रविचको एकतामा ‘जनताको बहुदलीय जनवाद’को सिद्धान्त नहराउने बताए। उनले जनताको बहुदलीय जनवादले खेलेको भूमिकालाई अंगिकार गरेरै पार्टी एकता हुने दाबी गरे।
उनले भने, ‘जनताको बहुदलीय जनवादले खेलेको भूमिकालाई अस्वीकार गर्न मिल्दैन। त्यसैको सार तत्वलाई दृढतापूर्वक ग्रहण गर्दै अगाडि बढ्नुपर्छ।’ उनले दुई वाम पार्टीको एकतापछि एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने बताए।
नेपालका बाम पार्टीहरुको माउ पार्टी नेपाल कम्युनिष्ट पार्टी रहेकाले सोही नाम हुने उनको भनाइ थियो। खनालले भने, ‘बाम पार्टीहरु फुटेर नामका पछि पुच्छर झुण्ड्याइयो। ती पुच्छर अब काटिन्छन्।’
एमाले नेता खनालले ‘एक व्यक्ति एक पद’को सिद्धान्तमा कुरा नमिलेका कारण पार्टी एकता ढिलो भएको बताए। उनले सोही सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्नेमा जोड दिए। उनले भने, ‘तर हाम्रा धेरै नेतालाई यो सिद्धान्त मन परेको छैन। तर हामी चिरेर अगाडि बढ्छौं।’
यो पनि हेर्नुहोस्: