सुर्खेत-जाजरकोटमा फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण थप तीन जनाको मृत्यु भएको छ। एक हप्तादेखि फैलिएको भाइरल प्रकोपबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र शिशु रहेका छन्।
जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, २ का ५७ वर्षीय आइती तिरुवा, जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाहीको, ८ वर्षीय धनवहादुर विक र चार जना बालबालिकाको मृत्यु भएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ।
मृत्यु हुने बालबालिकाहरुमा १ महिनाका २ जना, ७/८ दिनका २ जना र ४ वर्षको १ जना रहेका छन्। प्रभावित क्षेत्र सदरमुकाम खलंगाबाट दुई दिनको पैदल दुरीमा पर्ने जुनीचाँदे गाउँपालिका १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नं २ को मजकोट, आलीमौगाना र वडा नं ३ का डाडाकोट र परालेमा भाइरल ज्वरो र रुघाखोकी प्रकोपको रुपमा देखापरेको बताइएको छ। सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन्।
एउटै घरमा ३/४ जनासम्म बिरामी परेको जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए। भाइरलको रुपमा देखापरेको रुघाखोकीलाई प्रकोपकै रुपमा फैलन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए। उनकाअनुसार प्रभावित क्षेत्रमा आवश्यक औषधी सहित डाक्टरहरुको टोली गइसकेको छ।
प्रकोप फैलिएसँगै प्रभावित क्षेत्रको विद्यालयहरु समेत बन्द गरिएको छ। ज्वरो र रुघाखोकीले अधिकांश विद्यार्थी बिरामी परेपछि जुनीचाँदे-२ मजकोटस्थित भगवती आधारभूत विद्यालय केही दिनका लागि बन्द गरिएको प्रधानाध्यापक मुक्तिप्रसाद शर्माले बताए। जाजरकोटमा थप तीन जनाको मृत्यु भएसँगै ६ नम्बर प्रदेशमा ज्वरोका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ।
यो पनि हेर्नुहोस्:
भाइरल ज्वरोले दुई सातामा १२ जनाको मृत्यु

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































