काठमाडौँ- एमाले स्थायी समितिले शेरबहादुर देउवा सरकार र निर्वाचन आयोग दुवैले संवैधानिक प्रक्रिया छल्न खोजेको आरोप लगाउँदै ताजा जनादेश अनुसार वाम गठबन्धन सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
सोमबार बसेको स्थायी समितिको बैठकले निर्वाचन सकिएको एक महिना र मतगणना सकिएको तीन हप्ताभन्दा बढी समय बित्दा पनि प्रतिनिधिसभाको समानुपातिकको परिणाम सार्वजनिक नगरेर सरकार गठन प्रक्रियालाई अवरुद्ध पारेको ठहर गरेको छ।
पार्टी अध्यक्ष केपी ओली शर्माको नेतृत्वमा भएको स्थायी समितिको बैठकले संसारका कुनै पनि लोकतान्त्रिक प्रणालीमा यस्तो उदाहारण नरहेको दाबी गर्दै देउवा सरकारले आफ्नो आयु लम्बाउन मात्र यस्तो अभ्यासको सहारा लिएको निश्कर्ष निकालेको छ।
‘यो संविधानको भावना र मर्मविपरितको विषय हो । यो स्थितरता र समृद्धिको अपेक्षा सहित उत्साहपूर्ण निर्वाचनमा सहभागि भएका सबै जनताको भावना र मत माथिको खेलवाड हो,’ बैठकले जारी गरेको वक्तव्यमा उल्लेख छ।
यस्तै बैठकले संविधानले स्पष्टरुपमा तोकिएको दायित्वबाट पन्छिएर काम चलाउ सरकारले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तर अस्थायी प्रादेशिक केन्द्र नतोक्ने र प्रदेश प्रखहरुलाई राजधानीमै सपथ गराउने तयारी गरेर संविधानको मर्म र सिद्धान्तको उल्लंघन गरेको आरेप लगाएको छ।
यो पनि हेर्नुहोस्:
एमाले स्थायी समितिले समानुपातिक प्रदेश सांसदको सूची टुंग्याउने