सुर्खेत-प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सहभागि भएका उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउन थालेका छन्। निर्वाचन आनयोगले यहि पुस २७ गतेसम्म खर्च विवरण बुझाउन निर्देशन दिएसँगै उम्मेदवारहरुले खर्च विवरण बुझाउन थालेका हुन्।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ११ दलहरुबाट उम्मेदवार बनेका ५९ जना नेतामध्ये हालसम्म १० जनाले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयमा बुझाएका उम्मेदवारहरुमध्ये खर्च विवरण मध्ये सुर्खेतमा सबैभन्दा कम रकम खर्च गर्ने उम्मेदवारहरुमा गंगे कामी रहेको छन्।
गत मंसिर २१ गतेको प्रदेशसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार कामीले दुई लाख रुपैयाँ खर्च गरेको निर्वाचन कार्यालयका प्रमुख सुनिता थापाले बताइन् । उम्मेदवार गंगेले दुई लाख रुपैयाँ खर्च गरे पनि भोट भने ८२ मात्र ल्याएका थिए। उनले सबैभन्दा बढी सवारी साधनमा खर्च गरेका छन्।
निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार ६० हजार रुपैयाँ निर्वाचन प्रचार–प्रसारका लागि प्रयोग गरिएको सवारी साधनमा खर्च भएको हो । १२ दिनमा सवारी साधन र इन्धनमा गरी उम्मेदवार गंगेले एक लाख रुपैयाँ खर्च गरेका छन्।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट विजयी सांसद विन्दमान विष्टले पनि खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले बताइन्। उनकाअनुसार १० जना उम्मेदवारहरुले मात्रै खर्च विवरण बुझाएका छन् । कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका कांग्रेस नेता पुर्णबहादुर खड्काले चुनावमा १९ लाख ४९ हजार ५० रुपैयाँ खर्च गरेका छन्।
उनले खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । ‘प्रदेशसभातर्फ सोही क्षेत्रको (क) बाट उम्मेदवार बनेका टेकबहादु सिंहले ६ लाख १९ हजार ५० रुपैयाँ खर्च गरेको विवरण बुझाउनुभएको छ ।’ अधिकृत थापाले भनिन्, ‘क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार बनेका झकबहादुर डाँगीले नौ लाख ५१ हजार ६ सय ४७ रुपैयाँ खर्च गरेको विवरण पेश गर्नु भएको छ।’
उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट उम्मेदवार बनेका कालिबहादुर चन्दले पाँच लाख ९१ हजार पाँच सय रुपैयाँ खर्च गरेका छन्। चन्दले निर्वाचन क्षेत्र नम्बर १ (क) बाट उम्मेदवारी दिएका थिए । संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका धनवीर कामीले तीन लाख २१ हजार पाँच सय रुपैयाँ खर्च गरेका छन्।
यस्तै (क) बाट उम्मेदवारी दिएका गंगे कामीले भने दुई लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हृदयराम थानीले चुनावमा १२ लाख ३० हजार रुपैयाँ खर्च गरेका छन् । निर्वाचन क्षेत्र नम्बर–२ (ख) मा प्रदेशसभा सदस्य उम्मेदवार बनेका तप्तबहादुर विष्टले १४ लाख १० हजार, (क) का उम्मेदवार कमलराज रेग्मीले तीन लाख आठ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।
यस्तै नेकपा एमालेबाट निर्वाचन क्षेत्र नम्बर २ मा विजयी सांसद नवराज रावतले पनि खर्च विवरण बुझाइसकेको कार्यालयले जानकारी दिएको छ। प्रदेशसभाका सासंद यामलाल कँडेलले १० लाख ९० हजार रुपैयाँ खर्च गरेका छन् । निर्वाचन अवधीभर प्रचारप्रसारका लागि आयोजित चुनावी सभा र कार्यकर्ता परिचालनमा उनीहरुले सबैभन्दा ठुलो रकम खर्च गरेका हुन् ।
पूर्वगृहमन्त्री खड्काको सबैभन्दा बढी खर्च !
प्रतिनिधिसभा सदस्य पदका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका पुर्णबहादुर खड्काले सबैभन्दा बढी खर्च गरेका छन्। पूर्वगृहमन्त्री खड्काले निर्वाचन अवधीभर १९ लाख ४९ हजार ५० रुपैयाँ खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा बुझाएका छन्।
निर्वाचन कार्यालयकाअनुसार करिव एक महिनासम्म निर्वाचन प्रचारप्रसारमा व्यस्त बनेका खड्काले कार्यकर्ता परिचालनमा मात्रै सात लाख रुपैयाँ खर्च गरेका छन् । प्रचार–प्रसारका लागि सवारी साधनमा उनले पाँच लाख रुपैयाँ खर्च गरेका निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयबाट हामीलाई प्राप्त खर्च विवरणअनुसार प्रचार सामग्रीको छपाईमा एक लाख र ढुवानीमा ७५ हजार गरी एक लाख ७५ हजार रुपैयाँ खर्च गरेका छन् । खड्काले ३३ हजार तीन सय ७७ मत प्राप्त गरेका थिए ।
‘खर्च विवरण नबुझाउनेलाई कारवाही गछौं’
प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको महिना बितिसक्दा उम्मेदवारहरुले आफ्नो चुनावी खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन् । निर्वाचन मत परिणाम घोषणा भएको लामो समयसम्म पनि जिल्लामा निर्वाचन लडेका अधिंकाश उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउन आलटाल गरिरहेका हुन् ।
निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवारले आफूले चुनावमा गरेको खर्चको विवरण निर्वाचन आयोगलाई बुझाउनुपर्ने कानुनी प्रावधान छ । तर, निर्वाचन सकिएको एक महिना पुग्दासमेत सुर्खेतमा ४८ जना उम्मेदवारहरुले आफ्नो खर्च विवरण बुझाएका छैनन्। निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सांसद ध्रुव्रकुमार शाही, प्रदेशसभा (क) मा विजयी ठम्मरबहादुर विष्ट र (ख) का सांसद खड्कबहादुर खत्रीले आइतवारसम्म आफ्नो खर्च विवरण बुझाएका छैनन्।
खर्च विवरण बुझएका ११ जना उम्मेदवारहरुले सबैभन्दा वढी कार्यकर्ता परिचालनमा खर्च गरेको पाइएको अधिकृत थापाले जानकारी दिइन् । निर्वाचन आयोगले प्रतिनिधिसभाका लागि २५ लाख र प्रदेशसभातर्फका उम्मेदवारका लागि १५ लाखसम्म खर्च गर्ने अधिकार दिएको थियो।
जसअनुसार हालसम्म कुनै पनि उम्मेदवारले आयोगको क्षेत्राधिकार भन्दा बढी खर्च गरेको विवरण नबुझाएको निर्वाचन अधिकारी थापाले बताइन्। ‘विवरण नबुझाएका उम्मेदवारहरुले समेत तत्काल बुझाउनका लागि कार्यालयले पत्र पठाउने तयारी थालेका छौं । उनले भनिन, ‘यदि समय सिमामा खर्च विवरण नबुझाए निर्वाचन आयोगद्धारा जारी गरिएको ऐनबमोजिम कारवाही गर्छौ।’
यो पनि हेर्नुहोस्…

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































