बाढीले घर बगाएपछि रातभरि शीतले भिज्छ ओछ्यान

बाढीले घर बगाएपछि रातभरि शीतले भिज्छ ओछ्यान
+
-

सुर्खेत– २०७१ साल साउन २८ र २९ गते आएको भीषण बाढीका कारण घरबारविहीन बनेका सुर्खेतका बाढीपिडितहरु चिसो र शितलहरका कारण मारमा परेका छन्।

विगत एक सातादेखि बढेको चिसो र शितलहरका कारण खुल्ला आकाशमुनि त्रिपालको बास बनाएर बसेका बाढी पीडितहरुको बिजोग भएको हो।

शिविरमा रहेका बालबालिका र बृद्धबृद्धाहरु बढ्दै गएको चिसोका कारण प्रभावित बनेका छन्। उनीहरुको अवस्था दिन/प्रतिदिन नाजुक बन्दै गएको छ। सरकारले बाढीका कारण विस्थापित बाढीपीडितहरुलाई पुनर्स्थापना नगर्दा उनीहरुको दैनिकी नाजुक बनेको हो।

बाढीपीडित भएको चार वर्ष बितिसक्दासमेत सरकारले पुनर्स्थापनाका लागि पहल नगर्दा वर्षेनी शितलहर र जाडोको मार खेप्नु परेको वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रकी धनसरा थापाले बताइन्।

बाढीले घर बगाएपछि महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी थापा घर सम्झिँदै त्रिपालमुनि रात काट्न बाध्य छन्। ‘सरकारले पुनर्स्थापना गर्ला भन्ने आशा हरायो,’ निराश हुँदै थापाले भनिन्, ‘चार हिउँद बित्दासमेत घर जग्गाको ठेगान छैन।’

सरकारले जग्गा खरिदका लागि ५० हजार र घर बनाउनका लागि तीन लाख दिने भने पनि आफूले पाउन नसकेको उनले बताइन्। उनले हालसम्म राहत स्वरुप ५० हजार रुपैयाँ मात्रै पाएकी छन्।

‘सरकारले घरवासका लागि ५० हजार दियो,’ उनले भनिन्, ‘५० हजारले अ‍ैलानी जग्गासमेत पाउन मुस्किल छ। जग्गा खरिदका लागि पाएको राहत छोराछोरी र परिवारको दैनिकीमा खर्च भैसक्यो।’

एक वर्ष पाएको त्रिपालसमेत च्यातिँदा पुसको सितलाई छेक्न नसकेको बाढीपीडित शिविरका रामकुमारी सिंहले बताइन्।

‘त्रिपालबाट चुहिएको शीतले बिहानपख कपडा भिजेको हुन्छ,’ उनले भनिन्, ‘दिनभर कपडा घाममा सुकाउन पाइएन भने साँझ के ओछ्याउने, के ओढ्ने समस्या छ।’

बढ्दो चिसोसँगै शीतलहरका कारण त्रिपालभित्रका बिस्तरासमेत भिज्दा विभिन्न रोगको समस्या देखिएको उनले बताइन्।

‘चिसोले ढाड दुख्ने समस्याले सताएको दुइ हप्ता जति भयो,’ उनले भनिन्, ‘उपचारका लागि मेडिकल जाने खर्च छैन। भएको पैसा खानाखर्चमै सकिन् ।’

रातभर शीतले भिजेका कपडा दिनभर घाममा सुकाएर मात्रै ओछ्याउने गरेको उनले बताइन्। अध्याधिक चिसोका कारण बालबालिकालाई लगाउन र खुवाउन समस्या भएको छ।

थापा र सिंह प्रतिनिधि पात्र मात्रै हुन्। लामो समयदेखि त्रिपालमुनि बस्दै आएका १९ परिवारको दैनिकी चिसोले कष्टकर बन्दै गएको छ। बाढीका कारण घर गुमाएका वीरेन्द्रनगरका १९ घरपरिवार महिला प्रशिक्षण केन्द्रमा स्थित त्रिपालमुनि यो पुसे जाडोमा जीवन विताइरहेका छन्।

चिसोका कारण उनीहरुमा सरुवा रोगको संक्रमण फैलिएको छ। चिसो बढेसँगै विभिन्न रोगहरुको संक्रमण फैलिएकाले शिविरमा रहेका बालबालिका र बृद्धबृद्धाहरु विरामी परेका छन्।

झाडापखाला, रुघाखोकी, भाइरल ज्वरो, टाइफाइड, निमोनिया, घाँटी  दुख्नेलगायतको संक्रमण देखिएको बाढी पीडितहरुले बताएका छन्।

नवनिर्वाचित सांसदहरुप्रति आक्रोश

प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदहरुप्रति बाढीपीडित आक्रोशित बनेका छन्। निर्वाचनताका शिविरमा पुगेर पुनर्स्थापनाको आश्वासन बाड्न भ्याएका सांसदहरु निर्वाचित भएपछि समस्या सुन्न नआएको भन्दै उनीहरु आक्रोशित भएका हुन्।

निर्वाचनमा विजयी भएर गाउँ–गाउँमा पुगेका सांसदहरु वर्षाैंदेखि त्रिपालमुनि बस्दै आएका बाढीपिडित शिविरमा नपुगेको उनीहरुको गुनासो छ। ‘भोट माग्न पटक–पटक नेताहरु हात जोड्दै आउनुभयो,’ बाढीपीडित शिविरमा बस्दै आएकी ७० बर्षिय लक्ष्मी योगीले भनिन्, ‘भोट हालियो, तर हाम्रा समस्या सुन्न, के कस्तो छ भनेर सोध्न कोही आउनु भएन।’

निर्वाचनताका घोषणा पत्र बोकेर शिविरमा पुगेका उम्मेदवार र नेताहरुले आफ्ना पीडामाथि राजनीति गरेको उनी बताउँछिन्।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनताका नेताहरुले दिएको आश्वासन सम्झिँदैँ योगीले भनिन्, ‘घरजग्गा हामी बनाउँछौँ, भोट दिएर जिताउनुस् भने, तर भोट दिएको महिना भैसक्यो हाम्रो अवस्था के छ सोध्नसमेत कोही नेता आएका छैनन्।’

क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सांसद नवराज रावतले निर्वाचन लगतै राजधानी केन्द्रित भएकाले बाढी पीडितहरुसँग भेट्ने अवसर नमिलेको बताए। गाउँमा रहेका मतदातालाई धन्यवाद दिँदै बाढीपिडित समक्ष पुग्ने उनले बताए।

नेपाली कांग्रेस जिल्ला सभापति कमलराज रेग्मीले पार्टीले कार्यतालिका बनाएरै भेटघाटमा जुटेको बताए। कार्यतालिकामा पनि बाढी पीडितसँग भेटघाट कार्यक्रम राखिएको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?