
विर्तामोड- पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग राखेर पटक पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी विरुद्धमा बोल्न आवश्यक नभएको बताएका छन्।
आइतबार झापाको विर्तामोडमा रहेको विएन्डसी अस्पतालमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्री पोखरेलले स्वास्थ्य शिक्षाको क्षेत्रमा देशले सुधार खोजेको र डा. केसीले उठाएका माग जायज भएको बताए। उनले भने, ‘डा. केसीका विरुद्धमा लाग्नु पर्दैन। म विएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंजीलाई पनि यही सुझाव दिन चाहन्छु।’
तर निजी क्षेत्रबाट पूर्वाधार पुर्याएर बनाइएका प्रस्तावित शिक्षण अस्पतालहरुलाई सम्बन्धन दिइनुपर्ने उनले बताए। पोखरेलले भने, ‘म आज यहाँ आएँ। यहाँको अवस्था हेर्दा मेडिकल कलेजको सम्बन्धन दिँदा खेर जाँदैन।’
उनी आफू केसी पक्षधरको मान्छे नभएको दाबी गरे। निजी क्षेत्रलाई पनि निराश नपार्ने बिचको बाटोबाट निकास निकाल्नुपर्नेमा आफू लागेको पूर्वमन्त्री पोखरेलको भनाइ थियो। ‘म डा. केसीकै भनाइमा लाग्ने मान्छे पनि होइन र उहाँका विरुद्धमा उत्रेका मान्छेहरुको भनाइमा लाग्ने पनि होइन। म बिचको बाटोबाट समाधान निकाल्नुपर्छ भन्ने मान्छे हुँ।’
फरक प्रसंगमा पूर्वमन्त्री पोखरेलले अबको सरकार नेकपा एमालेको नेतृत्वमा बन्ने बताए। उनले पार्टी एकता नहुन्जेल एमालेको नेतृत्वमा र एकतापछि एउटै दलको सरकार हुने बताए।