सुर्खेत- प्रदेश नम्बर–६ मा राष्ट्रियसभाको निर्वाचनको माहोल शुरु भएको छ। निर्वाचनको मिति र निर्वाचन केन्द्र तोकिएसँगै राजनीतिक दलहरु आ–आफ्नो मत संख्या जोड्न थालेका छन्।
स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभामा निर्वाचित तथा समानुपातिक सांसदहरुले मतदान गर्ने भएसँग दलहरुले जोड–घटाउ थालेका हुन्। माघ २४ गते तोकिएको निर्वाचनमा प्रदेश नम्बर ६ का दश जिल्लामा एक सय ९८ जना मतदाताले मतदान गर्न पाउनेछन्।
संविधानमा व्यवस्था भएअनुसार यो प्रदेशबाट ८ जना राष्ट्रियसभाका सदस्यहरू निर्वाचित हुनेछन्। यो प्रदेशमा रहेका ५४ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी एक सय आठ तथा २५ वटा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ५० जनाले मतदान गर्न पाउने छन्।
यस्तै, प्रदेशसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित २४ र समानुपातिकबाट निर्वाचित हुने १६ जना गरी ४० जना सांसदले पनि मतदान गर्नेछन्। ६ नम्बर प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रियसभाका सदस्य छनौटका लागि यो प्रदेशमा जम्मा एक सय ९८ जनाले मतदान गर्नेछन्।
स्थानीय तह र प्रदेशसभाको निर्वाचनबाट विजयी जनप्रतिनिधि र सांसदहरु गरी प्रदेश नम्बर–६ मा नेकपा एमालेले एकल बहुमत छ।
स्थानीय तहमा ५९ मतदाता रहेको एमालेका प्रदेशसभामा भने २० जना छन्। कुल मिलाएर एमालेसँग ७९ मत छ। यस्तै, नेकपा माओवादी केन्द्रको ६७ मत छन्। स्थानीय तहमा ५४ र प्रदेशसभामा १३ मतदाता रहेको माओवादी यो प्रदेशमा दोस्रो स्थानमा छ। प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रको दुई तिहाइ बहुमत यस प्रदेशमा छ। यस्तै, प्रदेशसभामा ६ जना मतदाता रहेको नेपाली कांग्रेसका स्थानीय तहमा ४२ मतदाता छन्। स्थानीय तह र प्रदेशसभा जोड्दा ४८ मतदाता कांग्रेसका छन्।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धका रुपमा विजयी भएका एमाले र माओवादीले नै राष्ट्रियसभामा पनि सहभागी भए यो प्रदेशमा कांग्रेसको प्रतिनिधित्व हुने सम्भावना कम रहेको वामगठबन्धन निकटका नेताहरु बताउँदै आएका छन्।
‘६ नम्बर प्रदेशमा हाम्रो मत बढी छ,’ नेकपा एमालेका जिल्ला सचिव मोहनकुमार बडुवालले भने, ‘राष्ट्रियसभामा पनि हाम्रो प्रतिनिधित्व बहुमतमा हुन्छ।’
यस प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तीन जना खुल्ला, तीन जना महिला, एक/एक जना अल्पसंख्यक र दलित गरी जम्मा ८ जना सदस्य निर्वाचित हुनेछन्।
निर्वाचन कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन र नामावली उपर दाबी विरोधको उजुरी माघ ७ गते लिइने छ। यस्तै ८ गते अन्तिम नामावली प्रकाशन, १० गते उम्मेदवारको मनोनयन दर्ता र सूची प्रकाशन गरिने छ। उम्मेदवारविरुद्ध परेका उजुरीहरू भने माघ ११ गते लिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै माघ १३ गते मनोनयन दर्ता र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, १४ गते मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन चिन्हसमेत प्रदान गरिने । माघ २४ गते हुने यो निर्वाचन अन्तर्गत प्रदेश ६ को मतदान भने वीरेन्द्रनगरमा हुनेछ। यो प्रदेशका मतदाता मतदान गर्न वीरेन्द्रनगर आउनुपर्ने छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































