
पोखरा- पोखराको नयाँबजारमा जारी सफल राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ को प्रवेशद्धारमा पुगेपछि कानमा एउटा आवाज गुञ्जिन्छ।
‘गाडी तपाईँको भाग्यमा भाग्य तपाईँको टिकटमा अनि टिकट तपाईँको हातमा’ त्यसपछि हातमा पास हुनेहरु पनि ६० रुपैयाँको टिकट काट्न काउण्टरतिर सोझिन्छन् । के थाहा ६० रुपैयाँमै १८ लाखको गाडी पर्ने भाग्य छ कि!
हरेक मानिसले भन्ने गर्छंन्- भाग्यमा होइनमा कर्ममा विश्वास गर्नुपर्छ। तर भाग्यसँग जोडिएका पक्षसँग पनि मानिस अलग बस्न सक्दैन।
पोखरामा जारी व्यापार मेलामा ६० रुपैयाँको टिकटमा १८ लाखको कार पर्छ कि भन्दै भाग्यमा विश्वास गर्नेहरुको संख्या बढ्दै गएको छ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले बम्पर उपहारमा हुण्डाई कम्पनीको इवन गाडी र विभिन्न डोर प्राइजले दर्शकलाई मेलासम्म आउन उत्साहित गरेको बताए। उनले भने, ‘भाग्यमा विश्वास गर्नेहरुले टिकट काटेर मेला प्रवेश गर्नु भएको छ।’
‘गत वर्षका मेलामा पास माग्ने र मेला हेर्नेहरु धेरै हुन्थे तर अहिले टिकट काटेर मेला अवलोकन गर्ने दर्शक बढेका छन्।’ गत वर्षको भन्दा अहिले टिकट काटेर मेला प्रवेश गर्ने २५ प्रतिशत दर्शक बढेको उनले जानकारी दिए।
टिकटको नम्बर हेर्दै गाडी नजिक आएका पोखरा १९ का रोहित गुरुङले भने, ‘यो गाडी चढ्ने भाग्यमानी त म नै बन्न पाए हुन्थ्यो, अघि पछि कर्ममै विश्वास गर्छु तर यस्ता उपहार राखे पछि कताकता भाग्यमानी छु कि जस्तो लाग्छ।’ मनोरञ्जन पनि हुने र प्रवेश टिकटमा कार उपहारले पनि लोभ्याएको उनले बताए।
पोखराको नयाँबजारमा जारी सफल राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ मा मंगलबार छैठौ दिनसम्म आइपुग्दा ८० हजार दर्शकले मेला अवलोकन गरेको झण्डै ६ करोडको कारोबार भएको महासचिव दामु अधिकारीले जानकारी दिए। समापनको दिन प्रवेश टिकट मध्य एकजनालाई गोलाप्रथाद्धारा हुण्डाईको इवन गाडी उपहार प्रदान गरिनेछ।
मेलाले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन हस्तकलाका उत्पादन सूचना प्रविधि शिक्षा स्वास्थ्य, पर्यटन लगायतको बजारीकरण र प्रबद्र्धनलाई जोड दिइने बताइएको छ।