पोखरा- कास्कीमा सवारी दुर्घटनाबाट प्रत्येक महिना औसतमा चार जनाको मृत्यु हुने तथ्यांकले देखाएको छ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार पछिल्लो ६ महिनामा सवारी दुर्घटनाबाट कास्कीमा २१ जनाको मृत्यु भएको जनाएको छ।
आर्थिक वर्ष २०७४ साउन १ देखि पुस ३० सम्मको दुर्घटनाको तथ्यांकलाई हेर्दा ४४ वटा सवारी दुर्घटनाको २१ जनाको ज्यान गएको छ भने ४२ जना गम्भीर र ६ जना सामान्य घाइते भएका छन्। दुर्घटना हुनेमा ३८ वटा मोटरसाइकल रहेका छन्।
६ महिनामा १५९३ जना मादक पदार्थ गरेर सवारी साधन चलाउनेलाई कारबाही गरिएको छ।
गत आर्थिक वर्ष २०७३/२०७४ को वार्षिक तथ्यांक अनुसार कास्कीमा ५८ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको थियो। यो तथ्यांकलाई हेर्दा कास्कीमा गत वर्ष औसतमा महिनामा ५ जनाको मृत्यु भएको देखिन्छ।
कास्की प्रहरीका प्रमुख ऐनबहादुर मल्लका अनुसार अधिकांश दुर्घटनाको कारणमा चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, छाडा चौपाया छन्।
कास्कीमा मात्रै दर्ता भएका १ लाख ७५ हजार ९९ सवारी साधन छन् भने अन्य क्षेत्रमा दर्ता भएका साधन पनि यस क्षेत्रमा गुड्ने भएकाले सवारी साधनको चाप अत्याधिक भएको मल्लले बताए। अहिले कास्कीमा जम्मा ६७ जना ट्राफिक रहेकाले कास्कीको ट्राफिक ब्यवस्थापनमा जनशक्तिको अभाव रहेको बताए।