
सुर्खेत- प्रदेश नम्बर ६ को प्रमुखमा नियुक्त भएका दुर्गाकेशर खनाल नेपाली कांग्रेस सुर्खेतका संस्थापक नेता हुन्।
बुबा चन्द्रकेशर खनाल र आमा भागिरथी खनालका छोरा दुर्गाकेशर वि.स. २००३ सालमा डोटीमा जन्मिएका हुन्।
शिक्षित परिवारमा हुर्किएका खनालले वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत प्राथमिक विद्यालयबाट प्राथामिक शिक्षा (कक्षा ५ सम्म) अध्ययन गरे।
कक्षा ६ देखि पढ्न डोटी पुगेका उनले एसएलसी काठमाडौँबाट गरेका थिए। मानविकी संकायमा बीए र शिक्षाशास्त्र संकायमा बीएड गरेका उनले उच्च शिक्षा अध्ययनसँगै राजनीतिक यात्रा शुरु गरेका थिए। वि.स. २०२८ सालमा नेपाली कांग्रेस सुर्खेतको कार्यसमिति सदस्य रहेका उनी २०३६ सालमा जिल्ला सभापति भए।
प्रजातन्त्र प्राप्तिको आनदोलनमा पटकपटक जेल सजायसेमत भोगेका खनाल वि.स. २०४८ सालमा राष्ट्रिय सभा सदस्यसमेत भएका थिए।
त्यसैगरी, नेपाली कांग्रेसको महासमिति सदस्यसम्म पुगेका उनी त्यसबाहेक कुनै लाभको पदमा भने छैनन्। पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का खनालकै चेला हुन्।
कांग्रेसका संस्थापक सभापति बीपी कोइरालासमेत उनको निकटतम सम्बन्ध रहेको बताइन्छ। साथै, हालका कांग्रेस सभापति शेरबहादुर देउवासँगसँगै उनले विद्यार्थी राजनीति गरेका थिए। उनका पाँच भाइ र छ बहिनी छन्।