
पोखरा – प्रदेश नम्बर ४ का प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न बाबुराम कुँवर पोखरा पुगेका छन् ।
सरकारले गएको बुधबार उनलाई प्रदेश प्रमुखको जिम्मेवारी र पोखरालाई प्रदेश नम्बर ४ को अस्थायी राजधानी तोकेको थियो प्रदेशसभा सदस्यको शपथको तयारीका लागि प्रदेश प्रमुख कुँवर शनिबार नै पोखरा पुगेका हुन् ।
प्रदेशसभा सदस्याको आइतबार बिहान शपथ गराउने तयारी छ । विमानस्थलमा पत्रकारसँग छोटा कुरा गर्दै कुँवरले प्रदेश ४ को आर्थिक समृद्धिका लागि पर्यटन र जलस्रोतको उच्चतम प्रयोग गर्नु पर्ने बताए । उनले भने ‘पर्यटन र जलस्रोतमा हाम्रो क्षेत्र सम्पन्न छ ।’ उनले प्राप्त जिम्मेवारीलाई कुशलताकासाथ अभिभावक बनेर पुरा गर्ने बताए ।
प्रमुख कुँवरले आइतबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालयमा औपचारिक रुपमा पदभार ग्रहण गर्दैछन् । त्यस लगत्तै प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
प्रदेश प्रमुखको कार्यालय तत्कालका लागि पोखराको अध्यागमनको कार्यालयमा रहने छ भने आवसाका लागि राष्ट्र बैंकको गेष्ट हाउसमा व्यवस्था गरिएको छ ।