एमाले प्रदेश सह–संयोजक यामलाल कंडेल, पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला, माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीको आकांक्षिका रुपमा उभिएका छन् ।
सुर्खेत- प्रदेश ६ मा प्रदेश प्रमुखले कार्यभार सम्हालेसँगै प्रदेश सरकार गठनको तयारी थालिँदै छ। प्रदेश प्रमुखको नियुक्ति, अस्थायी मुकाम र सदस्यले सपथ लिएसँगै अब प्रदेश सरकार गठनको ढोका खुलेको हो।
संवैधानिक व्यवस्था अनुसार फागुन पहिलो साता प्रादेशिक सरकार गठन भैसक्नुपर्ने भएकाले प्रदेश सभा सदस्यहरु यस प्रदेशमा मुख्यमन्त्री कसले पाउने भन्नेतर्फ केन्द्रित भएका छन्।
प्रदेशसभामा जम्मा ४० सिट रहेको यस प्रदेशमा मुख्यमन्त्रीको रस्साकस्सी दुई वाम पार्टीबीच सीमित बनेको छ। ४० सिटमध्ये नेपाली कांग्रससँग ६ र राप्रपासँग एक सिट मात्रै छ। यस्तै, २० सिट जितेर नेकपा एमाले प्रदेशमा पहिलो पार्टी बनेको छ भने माओवादी केन्द्रसँग १३ सिट छ।
गठबन्धनलाई पार्टी एकतामा परिणत गर्ने भागबन्डा गरेका दुवै दलले मुख्यमन्त्री पदमा भने आ–आफ्नै अडान कायम राखेका छन्।
प्रदेशमा सबैभन्दा पहिलो पार्टी भएकाले कुनै पनि हालतमा मुख्यमन्त्री नछोड्ने अडान एमालेको छ। माओवादीले पनि द्वन्द्वकालको आधारभूमिका रुपमा ६ नम्बर प्रदेश रहेकाले मुख्यमन्त्रीमा दाबी गर्दै आएको छ।
एमालेबाट प्रदेश सह–संयोजक यामलाल कंडेल, पोलिटब्युरो सदस्य प्रकाश ज्वाला मुख्यमन्त्रीका आकांक्षी हुन्। यस्तै, माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी चर्चामा छन्।
एमालेबाहेक अरु सबै दल मिले पनि सरकार गठन गर्न बहुमत नपुग्ने भएकाले पनि एमालेले आफ्नो अडान नछोड्ने देखिन्छ। एमालेले सरकार गठन गर्न बहुमत पुर्याउन १ जना सांसद भए पुग्छ। यद्यपि माओवादीसँगको सहकार्य कायम नभए एमालेले राप्रपाका १ जना सांसदको समर्थन लिएर एकल सरकार बनाउन सक्ने एमालेकै नेताहरू बताउँछन्।
‘एमाले प्रदेश नम्वर ६ मा ५० प्रतिशत भएकाले प्रदेश सरकारको नेतृत्व गर्न पाउनुपर्छ,’ प्रदेशसभा सदस्य कंडेलले भने, ‘बहुमतको नजिक भएकाले कुनै हालतमा छोड्दैनौं।’
एमाले र माओवादीबीच भागबन्डा गर्नुपरे अरू नै प्रदेश छाड्न पार्टीपंक्तिलाई उनको आग्रह छ। एमाले मुख्यमन्त्री पाए सभामुखसहित चार मन्त्रालय माओवादीलाई दिने विषयमा भने लचक देखिएको छ।
माओवादी केन्द्रका प्रदेश सभा सदस्य महेन्द्रबहादुर शाहीले केन्द्रीय समितिको भागबण्डा र माओवादी केन्द्रको आधारभूमिका रुपमा ६ नम्बर प्रदेश भएकाले मुख्यमन्त्री पाउनुपर्ने बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































