सुर्खेत- माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता प्रदेश छमा उल्लासपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधबार ६ नम्बर प्रदेशमा दलहरुले उत्साहजनक रुपमा मनोनयन दर्ता गराएका हुन्।
राष्ट्रियसभामा आठ जनाको प्रतिनिधित्व हुने यस प्रदेशमा १२ जनाले उम्मेदवारी दिएको ६ नम्बर प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। राष्ट्रियसभा निर्वाचनका ६ नम्बर प्रदेशका निर्वाचन अधिकृत मेदेनीप्रसाद पौडेलले आठ सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएको बताए।
वाम गठबन्धनबाट नेकपा एमाले र माओवादीले मनोनयन दर्ता गरेको उनले बताए। पाँच जना एमाले, तीन जना माओवादी र चार जना नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन्।
अधिकृतको कार्यालयका अनुसार एमाले महिलाबाट सुर्खेतकी नन्दा चपाईले मनोनयन दर्ता गराएकी छन्। यस्तै, रुकुमपश्चिमबाट अन्यमा ठगेन्द्र पुरी र जाजरकोटका भैरवसुन्दर श्रेष्ठले मनोनयन दर्ता गराए भने कालिकोटकी नरपति लुहारले दलित कोटा र महिलाबाट हुम्लाकी कविता बोगटीले उम्मेदवारी दिएकी छन्।
यस्तै, माअोवादी केन्द्रबाट जाजरकोटका कालिबहादुर मल्ल, कालिकोटका जीवन बुढा र मुगुका यूटोन तामाङ्गले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसबाट अपांङ्ग सदस्यमा रुकुम पश्चिममा गोपालप्रसाद शर्मा, दलितमा सल्यानका मृतलाल सार्की, महिलामा मुगुकी सुर्यदेवी मल्ल र कालिकोटका विष्णुबहादुर शाहीले अन्यको कोटाबाट उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचनमा प्रदेश नम्बर ६ का दस जिल्लामा एक सय ९८ जना मतदाताले मतदान गर्न पाउने छन्।
यो प्रदेशमा रहेका ५४ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी एक सय आठ तथा २५ वटा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ५० जनाले मतदान गर्न पाउने छन्। यस्तै, प्रदेशसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित २४ र समानुपातिकबाट निर्वाचित हुने १६ जना गरी ४० जना सांसदले पनि मतदान गर्नेछन्। ६ नम्बर प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रियसभाका सदस्य छनौटका लागि यो प्रदेशमा जम्मा एक सय ९८ जनाले मतदान गर्नेछन्।
स्थानीय तह र प्रदेशसभाको निर्वाचनबाट विजयी जनप्रतिनिधि र सांसदहरु गरी प्रदेश नम्बर–६ मा नेकपा एमालेले एकल बहुमत छ।
स्थानीय तहमा ५९ मतदाता रहेको एमालेका प्रदेशसभामा भने २० जना छन्। कुल मिलाएर एमालेसँग ७९ मत छ। यस्तै, नेकपा माओवादी केन्द्रको ६७ मत छन्। स्थानीय तहमा ५४ र प्रदेशसभामा १३ मतदाता रहेको माओवादी यो प्रदेशमा दोस्रो स्थानमा छ। प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रको दुई तिहाइ बहुमत यस प्रदेशमा छ।
यस्तै, प्रदेशसभामा ६ जना मतदाता रहेको नेपाली कांग्रेसका स्थानीय तहमा ४२ मतदाता छन्। स्थानीय तह र प्रदेशसभा जोड्दा ४८ मतदाता कांग्रेसका छन्।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धका रुपमा विजयी भएका एमाले र माओवादीले नै राष्ट्रियसभामा पनि सहभागि भए यो प्रदेशमा कांग्रेसको प्रतिनिधित्व हुने सम्भावना कम रहेको वामगठबन्धन निकटका नेताहरु बताउँदै आएका छन्।
निर्वाचन कार्यतालिका अनुसार बुधबार नै उम्मेदवारको सूची प्रकाशन गरिने छ। उम्मेदवारको विरोधमा निर्वाचन कार्यालयले उजुरी ११ गते लिने जनाएको छ।
यस्तै, माघ १३ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, १४ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारी फिर्ता लिनेछ। अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गरिने छ।
स्थानीय तहका प्रमुख, उप–प्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने पाउने उक्त निर्वाचनबाट ८ जना राष्ट्रिय सभा सदस्यहरु चयन हुनेछन्। निर्वाचनमा ३५ वर्ष पुगेको नेपाली नागरिकले उम्मेदवारी दिन पाउने व्यवस्था छ। शान्त वातावरणमा उम्मेदवारी दर्ता सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।


                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































