काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्लब दिल्ली डेयर डेभिल्सले नेपालका युवा स्पिनर सन्दिप लामिछानेलाई आबद्ध गरेको छ। आसन्न आईपिएलका लागि आइतबार भएको लिलामीमा दिल्लीले सन्दिपलाइ २० लाख भारतिय रुपैयाँमा आबद्ध गरेको हो। सन्दिपको बेस मुल्य नै २० लाख भारु थियो।
अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङको प्रशिक्षण तथा भारतिय टोलीका पुर्व ब्याट्सम्यान गौतम गम्भिरको कप्तानीमा रहेको दिल्लीमा आठ विदेशी खेलाडी छन् । दिल्लीको टोलीमा सात जना नियमित स्पिनर छन्।
अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र नेपालका सन्दिप मात्र विदेशी खेलाडीका रुपमा स्पिनर हुन्। म्याक्सवेल अफब्रेक तथा सन्दिप लेगब्रेक गुग्ली स्पिनर हुन्।
टाेलीमा रहेका भारतकै अमित मिश्रा, जयन्त यादब, गुर्कित सिंह, राहुल तावटिया, सहबाज नदिम र अभिशेक शर्मा पनि स्पिनर हुन्। ५५ लाखमा किनिएका १७ वर्षिय अभिषेकले हालसम्म आईपिएल खेलेका छैनन्। उनी हाल आईसिसी यु–१९ विश्वकप खेलिरहेका छन्। उनी बायाँ हाते अर्थोडक्स स्पिनर हुन्।
५० लाखमा किनिएका २८ वर्षिय जयन्तले भारतको सिनियर टोलीबाट खेलिसकेका छन्। उनले टेस्ट र एकदिवशिय अन्तर्राष्ट्रियमा गत वर्ष डेब्यु गरेका थिए।
उनले टेस्टमा चार खेलमा ११ विकेट र एकदिवशिय अन्तर्राष्ट्रियमा एक खेलमा एक विकेट लिएका छन्। अफब्रेक स्पिनर जयन्त सन् २०१४ देखी दिल्ली डेयरडेभिल्समा आबद्ध छन्।
२८ वर्षिय नदिम सन् २०११ यता दिल्ली डेयर डेभिल्समा आबद्ध छन्। उनले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गर्न पाएका छैनन्। उनी बायाँ हाते अर्थोडक्स स्पिनर हुन्। २५ वर्षिय तावटियाले पनि भारतिय सिनियर टोलीबाट डेब्यु गर्न सकेका छैनन्। उनले सन् २०१४ यता आईपिएलमा आबद्ध हुँदै यसअघि राजस्थान र पन्जावबाट खेलेका थिए।
उनी पहिलो पटक दिल्लीमा आबद्ध भएका हुन्। सन् २०१४ को आईपिएल सिजनमा राजस्थानबाट खेल्दै १० विकेट लिएका तावटियालाई गत संस्करणमा पन्जाबले २५ लाख भारुमा खरिद गरेको थियो। यसपटक दिल्लीले उनलाई तीन करोड भारु खर्च गरेको छ। उनी लेगब्रेक स्पिनर हुन्।
२७ वर्षिय गुर्कितले भारतको सिनियर टोलीका लागि तीन वटा एकदिवशिय अन्तरर्राष्ट्रिय खेल खेलेपनि विकेट लिएका छैनन्। यसअघि पन्जावका लागि खेलेका गुर्कितलाई यसपटक दिल्लीले ७५ लाख भारुमा आबद्ध गरेको हो। उनी पनि अफब्रेक स्पिनर हुन्।
२९ वर्षिय म्याक्सवेल नौ करोड भारुमा दिल्लीमा आबद्ध भएका हुन्। म्याक्सवेलले टेस्टमा सात खेलमा आठ विकेट र एकदिवशिय अन्तर्राष्ट्रियमा ८० खेलमा ४५ विकेट लिएका छन्। सन् २०१२ मा दिल्ली डेयरडेभिल्समार्फत पहिलो पटक आईपिएल खेलेका म्याक्सवेलले त्यसपछि मुम्बई इन्डियन्ससँग एक सिजन खेलेका थिए भने त्यसपछि तीन सिजन पन्जाबसँग आबद्ध थिए। उनले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ खेलमा १७ विकेट लिएका छन्।
३५ वर्षिय मिश्रा दिल्लीका भेट्रान खेलाडी हुन्।
सन् २००८ देखी दुइ सिजन दिल्लीका लागि खेलेका मिश्राले सन् २०१५ मा यही क्लबमा फर्कनुअघि डेक्कन चार्जस र सनराइज हैदराबादका लागि पनि खेलेका थिए। उनले २२ टेस्टमा ७६ विकेट र ३६ एकदिवशिय अन्तर्राष्ट्रिय खेलमा ६४ विकेट लिएका छन्। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा उनले आठ खेलमा १४ विकेट लिएका छन्।
यो पनि पढ्नुहोस्…

भर्खरै
लोकप्रिय






































































































































































































