
केचना- शनिवार साँझ ७ वटाको संख्यामा आएका जंगली हात्तीको समूहले कचनकवल गाउँपालिका ३ का धनलाल राजवंशी मदन राजवंशी, गंगा राजवंशी तथा चिरन राजवंशीको घरमा पसी अन्न खाइ उनीहरुको घरमा समेत निकै ठूलो क्षति पुर्यायो।
चिरन राजवंशीको घर भत्काएको छ भने धानबारीमा क्षति पुगेको छ। त्यति हुँदा पनि स्थानीयबासीको प्रयासबाट मानवीय क्षति भने हुन पाएन।
पूर्व पश्चिम राजमार्ग दक्षिणका बासिन्दा जंगली हात्तीको आक्रमणको डरका कारण अचेल रातभर सुत्ख पाउँदैनन्। दक्षिण झापाका किसानलाई आफ्नो ज्यान तथा घरमा राखेको अन्न बाली जोगाउन निकै गाह्रो भइरहेको छ।
कचनकवल गाउँपालिका ३ का बासिन्दा नवराज भट्टराईका अनुसार ठूल्ठूला दाह्रा भएका हात्तीले स्थानीयबासी अत्यन्त त्रसित भएका छन्। दिउँसो नजिकको जंगलमा बस्ने र राति भएपछि गाउँ पस्ने गरेका कारण उनीहरु त्रसित बनेका छन्।
भट्टराईले भने, ‘हामी बेलुका ७ बजे सुतेर हात्ती आउने समय ११ बजेसम्म निद्रा पुर्याइसक्छौं। अनि हात्तीको ड्युटी गर्छौं ।’
वर्षभरि खाने र परिवार पाल्ने आधारका रुपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन्।
भारतको आसाम राज्यबाट काँकरभिट्टास्थित मेची नदी किनारा हुँदै स–सना झुण्डका रुपमा नेपाल छिरेका जंगली हात्तीको समूहले झापाको ज्यामिरगढी, दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिबारी जलथल, पृथ्वीनगर, बालुवाडी, केचना, पथरिया, घेराबारीलगायत स्थानका किसानका अन्नबाली तथा फलफूलमा क्षति गर्ने गरेको स्थानीयवासीको गुनासो छ।
हात्ती समस्या समाधानका लागि सरकारी पक्षबाट सहयोग नभएको गुनासो स्थानीयवासीको रहेको छ। चुनावी नाराभित्र हात्ती नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेका विजयी उम्मेदवार तथा प्रतिस्पर्धी दलका उम्मेदवार स्थानीयवासीको समस्या हल गर्न स्थानीय समस्या ग्रस्त क्षेत्रमा नआएको पीडितको दुखेसो छ।
तीन दशकदेखि उत्तरी झापाको प्रमुख समस्याका रुपमा रहेको जंगली हात्तीको समस्या पछिल्लो तीन वर्षयता दक्षिण झापाको जटिल समस्या बनेको छ। मेचीनगर नगरपालिकाको बाहुनडाँगी क्षेत्रमा विद्युतीय तारबार लगाइएका कारण त्यता हात्ती छिर्न नपाएपछि अहिले हात्तीको समूहले दक्षिणतर्फका सर्वसाधारणलाई दुःख दिन थालेको स्थानीयबासी बताउँछन्।
दक्षिण झापाको हात्ती समस्या रोक्न गत भदौमा सरकारले नौ करोड रुपैयाँ बराबरको सौर्य तारवारको योजना जिल्ला वन कार्यालयमार्फत काम गर्ने गरी रकम छुट्याएको भए पनि काम शुरु नहुँदा नागरिकले सास्ती पाइरहेका छन्। जिल्ला वन कार्यालय झापाले भने हात्ती नियन्त्रणका लागि सौर्य तारवारको प्रक्रिया शुरु गरिएको जानकारी दिएको छ।
जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले भने, ‘उत्तरको हात्ती समस्या दक्षिण सर्यो। अब दक्षिणमा पनि विद्युतीय तारबार नलगाइ सुख छैन।’