
विर्तामोड- विर्तामोडका एक बालकलाई बिना कारण सादा पोशाकका प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै बालकका बुवाले कुटपिट गर्ने प्रहरीलाई सख्त कारवाहीको माग गरेका छन्। आफ्नो छोराको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै उनले त्यस्को जिम्मेवारी कुटपिट गर्ने प्रहरीले लिनुपर्ने बताएका छन्।
सोमबार विर्तामोडस्थित विएन्डसी अस्पताल परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो छोराको उक्त अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको बताए। गत माघ ११ गते राति इलाका प्रहरी कार्यालय विर्तामोडका सादा पोशाकमा खटिएका प्रहरीले आफ्नो १३ वर्षीय छोरालाई बिनाकारण कुटपिट गरेको उनले बताए।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा ड्युटीमा खटिएका प्रहरी जवानद्वय सुजन श्रेष्ठ र श्याम यादवले बिर्तामोड–४ का १३ वर्षीय सन्दिप प्रसाईंलाई बिहीबार राति कुटपिट गरेका हुन्। सन्दिप बिहीबार साँझ आफ्नै टोलमा भएको झगडा हेर्न घरबाट निस्किएका थिए। सुन्दर सामुदायिक प्रहरीका पदाधिकारीले झगडा मिलाएपछि उनी घर फर्किए।
तर, घरको गेटबाट भित्र पस्दै गर्दा राति ९:३० मा सादा पोशाकका २ जना प्रहरीले ‘तँ चोर होस्’ भन्दै समातेर लगेको बालकका बाबु गोपालप्रसाद प्रसाईंले बताए। बालकले आफ्नो र बाबुको परिचय दिँदादिँदै ती प्रहरीले मुख थुनेर मोटरसाइकलमा हालेर प्रहरी कार्यालय लगेको गोपालले बताए।
कार्यालयमा लगेर महिला सेलमा मरणासन्न हुनेगरी पिटेको र डेढ घण्टापछि बालकलाई घरनजिकै सुकुम्बासी टोलमा ल्याएर फ्याँकिदिएको उनको भनाइ छ।
‘राति घिस्रिँदै मेरो कोठामा आयो र बाबा म मर्छु होला भन्यो,’ गोपालले भने, ‘अलिक पर हेर्दा सादा पोशाकका प्रहरी गफ गर्दै थिए, हामीले गाली गरेपछि मोटरसाइकल चढेर भागे।’
सोही रात शौचालय जान भनी खाटबाट ओर्लिदा बालक हिँड्न नसकेर भूइँमा लडेको उनी बताउँछन्। राति नै गोपालले छोरालाई काँधमा बोकेर नजिकैको मेडिका हस्पिटल लगेका थिए। बालकलाई हाल त्यहाँबाट रेफर गरेर बीएन्डसी अस्पतालमा उपचार गराइँदैछ।
घटनाका बारेमा आवश्यक छानबिन गरेर कुटपिट गर्ने प्रहरीमाथि कारबाही सिफारिस गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।
‘अहिले उनीहरुलाई ड्युटीबाट निकालेर भित्रै राखिएको छ,’ डिएसपी कोइरालाले भने, ‘उनीहरु उपर अधिकतम कारबाही गरिनेछ।’ बाहिरी चोट नदेखिए पनि उनी डराउने र झस्किने गरिरहेको बाबु गोपालले बताए।