काठमाडौं – एमाले स्थायी समितिको बैठक अहिले बिहान १० बजे बस्दै छ। बैठकले सम्भवतः मंगलबार नै पार्टीको भागमा परेका मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुंगो लगाउने छ।
वाम गठबन्धनको साझेदारीअनुसार १, ३, ४, ५ प्रदेशका मुख्यमन्त्री एमालेको भागमा परेको छ। मुख्यमन्त्रीका लागि धेरै आकांक्षी भएपछि त्यसको निर्क्योल गर्न बैठक नै डाक्नु परेको हो।
श्रोतका अनुसार सकेसम्म सर्वसम्मतरुपमा नभए प्रदेश कमिटिले चुनाव गराएर मुख्यमन्त्रीको अनुहार छान्ने पार्टीको तयारी छ। प्रदेश एकमा भीम आचार्य र शेरधन राई मुख्यमन्त्रीका लागि दौढधुप गरिरहेका छन्।
प्रदेश तीनमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने पूर्व मौखिक सहमति भए पनि पछिल्लो समय राजेन्द्र पाण्डे पनि दौडमा छन्। प्रदेश चारमा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङबिच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा छ।
पाँच प्रदेशमा भने शंकर पोखरेल मुख्यमन्त्री बन्ने प्रायः निश्चित छ । पोखरेल यसअघि नै प्रदेशको एमाले संसदीय दलको नेता चयन भइसकेका छन्।