फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा
कहिले भेट होला हे राजै! यो जिन्दगानीमा।
जब जब रेडियोबाट यो कालजयी गीत गुञ्जिन्छ, तब रेडियो सुन्ने जो कोही श्रोताले परैबाट थाहा पाइहाल्छन्, कान ठाडा ठाडा बनाएर सुन्छन् अनि आफ्नो त्यो बेलाको क्षण सम्झिन्छन्।
त्यही संगीत आकाशकी जाज्वल्यमान ताराको सम्झनामा नयाँ पुस्ताले उनकै गीत गुञ्जाए अघिल्लो साता। सर्जकलाई जीवित राखिराख्न र उनका गीतबाट मानव जीवन, समाज र परिवेशलाई पहिचान गरेर प्रतिनिधित्व गर्न उनीहरुले ‘तारादेवी प्रतिष्ठान’ नामक संस्था नै औपचारिक रुपमा खोलेका छन्।
छोरा रवि श्रेष्ठ संरक्षक रहेको ‘तारादेवी प्रतष्ठान’मा दीपक केसी अध्यक्ष रहेका छन् भने नायिका भुवन चन्द उपाध्यक्ष छिन्। यस्तै सोभन सैंजू महासचिवको भूमिकामा छन् भने छोरी चारुदेवी श्रेष्ठले साथ र सहयोग गर्दै आएकी छिन्।
प्रतिष्ठानले देशविदेशमा तारादेवीलाई चिनाउनुका साथै भावी पुस्तामा नेपाली संगीत प्रतिको लगावलाई कायम राख्न जोड दिने दीपक केसी बताउँछन्। उनी भन्छन्, ‘तारादेवी प्रतिष्ठान सांगीतिक आकाशकी एउटा चम्किला तारा भएकाले उनको साधनालाई निरन्तरता दिन र देशविदेशमा प्रेरणाको स्रोतको रुपमा स्थापना गर्न पहल गर्नेछ।’
तारादेवीको पुराना गीत संकलन गरी गीति एल्बम, पुस्तक प्रकाशन र देश विदेशमा कार्यक्रमहरुको आयोजना गर्ने नीति प्रतिष्ठानले लिएको महासचिव सोभन सैंजू बताउँछन्।
उनी भन्छन्, ‘तारादेवी नेपाली श्रोता दर्शकको मनमुटुमा बसेकी गायिका हुन्। तर उनको थुप्रै गीतहरु ‘अनालग’मा थन्काइएर राखिएका छन्।यसलाई प्रतिष्ठानले खोजेर डिजिटलाइज्ड गर्नेछ र भावी पुस्तालाई सुनाउनेछ।’
यता, तारादेवीका समकालिन संगीतकार शुभबहादुर सुनाम त्यो बेलाको क्षण सुनाउँछन्, ‘त्यो बेला रेडियो नेपालमा तारादेवी मभन्दा सिनियर हुनुहुन्यो। म आर्मी ब्यारेकबाट त्यहाँ (रेडियो नेपाल) जागिरको सिलसिलामा जाँदा उहाँ एक्ली गायिका हुनुहुन्थ्यो जो प्रत्यक्ष रुपमा रेडियोको माइकमा गीत गाउनुहुन्थ्यो।’
उनले थप्छन्, ‘ उहाँ गाएरै सबैको मन जित्नुहुन्थ्यो।त्यसैले म पनि उहाँले गीत गाउँने बेला हेर्न जान्थे। फूलै फूलको मौसम तिमीलाई गीत रेकर्ड गर्दा तारादेवीले एकदमै सजिलै गरी गाउनुभयो। त्यो देखेर मै छक्क परे।’
तरादेवीले त्यो बेला कति पारिश्रमिक पाउनुहुनुथ्यो भन्ने सन्दर्भमा उनी भन्छन्,’ सुरुमा उहाँ बिना पैसा नै गाना गाउनुभयो। तर पछि संगीतरकार, गीतकार सबैलाई पारिश्रमिक दिनेभएपछि उहाँलाई पनि पाँच रुपैयाँ दिन सुरु गरियो। त्यो रुपैयाँ पाउने दुईजना मात्रै थिए त्यति बेला ‘
संगीत साधकको प्रेरणा, सरकारद्वारा बेवास्ता
गायिका संगीता राणा प्रधान ‘तारादेवी’ स्वरकी किन्नरी भएको बताउँछिन्। उनी भन्छिन,’म १९७९ तिर उहाँलाई पहिलो पटक भेट्दा ६ तारको तानपूरा बजाउनुहुन्थयो। जबकी साधारणतया तारपूरा चार तारको हुन्छ। शास्त्रीय संगीतकी खानी तारादेवीकै गीत सुनेर हुर्किए र संगीतमा पाइला चालेर यहाँसम्म आइपुगेँ ‘
तर तरादेवीले सरकारी कर्मचारीकै रुपमा ३० वर्षसम्म गीत गाए पनि सरकार उनको बारेमा खोज अनुसन्धान नभएकोमा उनी आपत्ति जनाउँछिन्। उनी भन्छिन्,’तारादेवी मेलवादेवीपछिको नेपाली सांगितिक आकाशकी सरस्वती हुन्,शास्त्रीय संगीत र आधुनिक संगीतलाई राजमार्गमा पुर्याउन उनको अहम भूमिका छ।’
रेडियो नेपाल मात्रै नभइ सारा नेपालीलाई तारादेवीको गीतले त्यतिबेलाको जीवनपद्धति र समाजबारे चिनाए पनि सरकारी तवरबाट कुनै सम्मान र कार्यक्रम नगरेको उनी गुनासो गर्छिन्।
विगत ३ दशकदेखि संगीत सिकाइरहनु भएका गुरु चण्डीप्रसाद काफ्ले पनि तारादेवीलाई मात्रै नभएर संगीत क्षेत्रलाई नै सरकारले उपेक्षा गरिरहेको बताउँछन्। उनी भन्छन्,’ संगीत भनेको जीवन र जगतको, दुखान्तको क्षणलाई सुखान्तमा अनुभूत गराउने एक अदभूत कला हो। विरामीको लागि औषधि हो। तर सरकारले पूरै वेवास्ता गरिरहेको छ।’
उनी अहिलेको संगीत शिक्षामा लगानीको कमी मात्रै होइन पुरै उपेक्षाको बाकसमा थन्काइएर राखेको बताउँछन्। उनी भन्छन्,’ नत्र संगीतको विद्यार्थीले किन भारतको इलाहाबाट परीक्षा पास गर्नु परिरहेको छ?’
उनी तारादेवीबारे सम्झिदै भन्छन्,’ म संगीत सिकेको १० वर्ष भइसकेको थियो। त्यस्तै ६० सालतिरको कुरा हो क्यारे। रसियन कल्चरमा उहाँलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो। भाग्यले मैले पनि उहाँलाई हेर्ने मौका पाएँ। तर उहाँको गीत धेरै सुनेको छु।’ उनले तारादेवी साँच्चिकै स्वरमा देवीको अवतार भएको बताउँदै आउँदो पुस्ताले उहाँको पथलाई पछ्याए भविष्यमा उज्ज्वल हुने बताए।
नयाँ पुस्ताकी गायिका गीता पाण्डे भन्छन्, ‘तारादेवीको गीत म बाल्यकालदेखि नै सुन्दै र गाउँदै आएकी छु। त्यतिबेला पनि तारादेवी नेपाली संगीत आकाशमा एउटा नत्रको रुपमा उदाउनु भएको थियो र अहिले पनि उहाँका गीत कालजयी नै छन्।’
उनले आफ्नो सांगितिक यात्रामा तारादेवीको अहम भूमिका रहेको बताउँदै अबको पुस्ताले उहाँबाट सिक्ने र राज्यले खोज गर्नु पर्ने बताउँछिन्। उनी भन्छिन्, ‘नयाँ पुस्ता अहिले सांगितिक धारलाई बिर्सिएर बहकिएको छ। न सुर न तालको गीत गाएर चर्चामा आउन खोज्ने धेरै छन् भने सरकारले मुर्धन्य स्रष्ठालाई जोगाउन र उसको इतिहासलाई खोजेर संरक्षण गर्नुको साटो बे-परवाह गरिरहेका छन्।’
को हुन तारादेवी ?
नेपालको सांगीत आकाशमा उदाएकी एक चम्किला नक्षत्र हुन् तारादेवी। विसं. २००२ माघ २ गते काठमाडौंको इन्द्रचोकमा पिता कृष्णबहादुर कार्की र आमा राधादेवी कार्कीको कोखबाट जन्मिएकी थिइन् कोकिल कण्ठी तारादेवी।
आफ्नो गायन यात्रा पाँच वर्षकै उमेरमा प्रारम्भ गरेकी उनी त्यतिबेला भैरवबहादुर थापासँगै लागेर ‘रेडियो नेपाल‘ पुगेकी थिइन्।
त्यति बेला गीत रेकर्ड गर्ने प्रविधिको विकास भइसकेको थिएन । त्यसैले बालगायिकाको रूपमा सांगीतिक यात्रा थालनी गरेकी तारादेवीले त्यहाँ प्रत्यक्ष गीत पनि गाइन्।
सुरू–सुरूमा गीत गाउँदा कुनै पारिश्रमिक नपाए पनि पछि रेकर्ड गर्ने प्रविधि नेपाल भित्रिएपछि भने रेडियो नेपालले गीतकार, गायक, संगीतकारलाई पनि पारिश्रमिक दिन थाल्दा तारादेवीले पनि पाँच रुपियाँ पारिश्रमिक पाएकी थिइन्।
औपचारिक शिक्षातर्फ तारादेवीले प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् भने सांगीतिक शिक्षातर्फ उनले स्नातक उपाधि हासिल गरेकी थिइन्। यसरी आफ्नो योग्यतालाई वृद्धि गरेकी तारादेवीले रेडियो नेपालमा तीस वर्ष जति जागिरे जीवन बिताइन्।
तारादेवीको २०२२ सालमा विमान चालक शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह भएको थियो भने उनीहरूकी एउटी छोरी चारु र दुई छोरा शशी र रविमध्ये शशीको भने असामयिक निधन हुन पुगेको थियो।
आधुनिक, लोकगीत, भजन, राष्ट्रिय गीत र चलचित्रका गीतहरूसमेतमा आफ्नो स्वरको माधुर्य छर्न सफल तारादेवीले ‘आमा’ चलचित्रमा पनि पार्श्वगायन गरिन्। तारादेवी नेपाली चलचित्रमा पार्श्वगायन गर्ने पहिलो गायिका बनिन्।
गीति नाटकमा गीत गाउने पहिलो गायिका पनि तारादेवी नै थिइन्।उनले मुनामदन, मालती मंगले, शकुन्तला, अन्धवेग, राजकुमार विश्वन्तरलगायतका नाटक र गीति नाटकहरूमा गीत गाएकी थिइन्। सांगीतिक क्षेत्रका धेरै कुरामा पहिलो हुने कीर्तिमान बनाएकी थिइन्। स्वर सम्राट् नारायण गोपालसँग युगल गीत गाउने पहिलो गायिका पनि तारादेवी नै हुन्।
नेपाली चलचित्रहरूमा तारादेवीले गाएको ‘वनमा फुल्यो फूलैफूल’ असाध्यै लोकप्रिय गीत हो। ‘सिन्दुर’ को यो गीत त्यति बेला सबैको मुखमुखैमा झुन्डिएको थियो।
तारादेवीले गाएका चलचित्र गीतहरूमा ‘मनको बाँध’ को फूलको थुंगा, ‘जीवन रेखा’ का गीतहरू हराएझैं लाग्छ र को हुँ म, ‘कुमारी’ का मनमा माया तनमा माया र आँखाहरूले चिन्न नखोजे ओठहरूले बोल्न नखोजे आदि अहिले पनि अविस्मरणीय गीतहरूका रूपमा लिइन्छ।
यी गीतहरूका अतिरिक्त तारादेवीले हिजो आज भोलि, कुमारी, पच्चीस वसन्त, माया, शान्तिदीप लगायतका चलचित्रहरूमा आफ्नो स्वर भरेकी थिइन्।
चार दशकभन्दा लामो समय संगीत क्षेत्रमा बिताएकी तारादेवीले संगीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानबापत इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बाश्री, छिन्नलता पुरस्कार, मैना पुरस्कार, नई सम्मान, सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु प्रथम, महेन्द्ररत्न आभूषण, गद्दी आरोहण पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक पाएकी छन्।
६१ वर्षकै उमेरमा असाध्य रोग पार्किन्सनले थलिएकी तारादेवीको २०६२ माघ ८ गते राति १० बजे नर्भिक अस्पतालमा निधन भयो। सांगितिक आकाशकी एउटा नक्षत्र ‘तारादेवी’ अस्ताए पनि उहाँका यी कालजयी गीतसंगीत कहिल्यै नअस्ताऊन्।