जरामा कला खोजिरहेका एक मार्क्सवादी

जरामा कला खोजिरहेका एक मार्क्सवादी
+
-

२०४६ को परिवर्तनपछि २०४८ को आम निर्वाचनमा उनी नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादीको तर्फबाट प्रतिनिधि सभामा उठे। पराजित भए।

राजनीतिले छोडेको थिएन। जिल्ला रेडक्रसका सभापति उनी। एकदिन राति आमा बिरामी हुनुभयो। तर घरसम्म बाटो थिएन। बडो कष्टसाथ आमालाई एम्बुलेन्ससम्म पुर्‍याइयो। कार्यालय पुग्दा आमालाई लिएर जाने एम्बुलेन्स चालकले कुनै कर्मचारीसँग गफ गरेको सुने उनले, ‘हाम्रा सभापतिको त घरसम्म पुग्ने बाटो नै रहेनछ।’

सविता विमली

आमालाई त निको भयो । तर उनलाई बडो छटपटी भो । अनि उनी बाटो खन्न थाले एक्लै । केही दिन त एकनासले खने । तर निरन्तर उनी एक्लै जमिन खनिरहेको देखेपछि उनलाई सहयोग गर्ने थपिन थाले । बजार जाने, स्कुल जाने, गोठालो जाने सबैले एकैछिन भए पनि सघाए । बाटो खन्दै जाँदा बीचमा एउटा रूख थियो । रूख नकाटी बाटो अघि बढाउन सकिने अवस्था थिएन । रूख धनी छिमेकी थिए । अत्यन्त घनिष्ठ पनि थिए । उनले बाटो बन्छ नै भन्ने कुरा पत्याएनन् र नकाटी नहुने उक्त रूख काट्ने अनुमति पनि दिएनन् । विकल्प चैँ दिए- ‘बाटो खनेर मूल बाटोसम्म पुर्‍याउने नै हो भने अब तिमी मूल बाटोबाट खनेर यो रूखसम्म बाटो लिएर आऊ अनि काट्न दिन्छु रूख।’

लामिछानेले यो सर्त मञ्जुर गरे र बाटो पुनः मूल बाटोबाट रूखसम्म आइपुग्यो। अनि आफैं ती छिमेकीले रूख काट्न भने। सबै गाउँले भेला गरेर रूख काटियो। काब्रोको त्यो पुरानो रूखको जरा उखेल्दै गर्दा उक्त रूख कुनै पुरानो जराको फेदबाट उम्रिएको देखियो। पूरै रूख ढलिरहँदा त्यो पुरानो जरो एकातिर पल्टियो भने मूल रूखको जरो अर्कोतिर। ती जरामध्ये पुरानो रूखको जरोलाई किनकिन उनले त्यहीँ छोड्नै सकेनन् र बोकेर आफूसँगै ल्याए।

यसरी अढाइ महिनामा उनले थालेको बाटोले मूल बाटो भेट्यो भने उनले त्यही रूखको जरोलाई टकटक्याएर, पखालेर, कर्दले कोट्याउँदै, छिनोले आकार दिंदै जाँदा जे आकृति भेट्टाए त्यो उनको कला नम्बर एक भएर अद्यापि उनको संग्राहलयमा मुस्कुराइरहेको छ।

३५ वर्ष अघिदेखिका कानुन व्यवसायी उनी आफ्नै व्यवसाय र घरव्यवहारमा अल्मलिए । २०५२ सालदेखि सुरु भएको माओवादी द्वन्दको मारले गाउँलाई छपक्कै छोप्दै ल्यायो । अनि त विवाद र मुद्घाहरूको निप्टरा अदालतमा होइन स्थानीय जनसरकारले गर्न थाल्यो । लामिछाने पनि केही फुर्सदिला भए । २०५४ सालमा सिन्धुलीकै चण्डेश्वरी मा.वि. मरिनमा माओवादीले विशाल सभा आयोजना गर्‍यो।

उनी पनि गए । फर्किंदा मरिन खोलाको किनारमा उनले अर्को रूखको जरो भेट्टाए र त्यसैलाई केही दिन प्रेमपूर्वक सुम्सुम्याएपछि निस्कियो दोस्रो सिर्जना । सगरमाथाको देश पग्लिदै, गल्दै गएको हिमालय, हिंसा र द्वन्दको मारमा फस्दै गएको शान्तिको क्षेत्रको दुर्दशालाई देखाए उनले दोस्रो सिर्जनामार्फत ।

अढाइ महिनामा उनले थालेको बाटोले मूल बाटो भेट्यो भने उनले त्यही रूखको जरोलाई टकटक्याएर, पखालेर, कर्दले कोट्याउँदै, छिनोले आकार दिंदै जाँदा जे आकृति भेट्टाए त्यो उनको कला नम्बर एक भएर अद्यापि उनको संग्राहलयमा मुस्कुराइरहेको छ।

२०१८/०१/०६ आमा हरिप्रिया बुबा तारानाथ लामिछानेका कान्छा छोराको रूपमा सिन्धुली कमलामाई नगरपालिका वडा नं. ४ आँसुमतीटार ढकाल गाउँमा जन्मिएका विश्वम्भर लामिछानेले जरामा कला भर्ने कार्य २६ वर्ष अगाडिदेखि सुरु गरेका थिए । २३ वर्षदेखि निरन्तर यसैमा लागिरहेका उनका हाल करिब २५० को संख्यामा जराबुट्टाबाट बनेका कला सिर्जनाहरू छन् ।

औपचारिक शिक्षाका रूपमा कानुनमा स्नातक तथा समाजशास्त्रमा स्नातकोत्तर हुन् उनी । यी औपचारिक शिक्षाका लागि जति पढे उनले त्योभन्दा बढी मार्क्सवाद पढे । सिन्धुलीमा साहित्य तथा सामाजिक परिवर्तनका अग्रणी अगुवा उमानाथ शास्त्री सिन्धुलीयकी कान्छी छोरी प्रसिद्धा शर्मासँग ३० वर्ष अगाडि सहयात्रा सुरु गरेका उनका दुई छोरी र एक छोरा छन् । श्रीमती प्रसिद्धा स्वयम् कवि हुन् । फुर्सदमा उनी पनि ती कलाकै संसर्गमा रमाउँछिन् ।

उब्रिएको अलिकति समय पनि खेर नफाली उनी सिर्जनामा लागिरहेका छन्। दिनभरि दाउरा बोकेर साँझमा जन्मिएको कान्छो छोरो त्यही दाउराकै वरिपरि रमाएको देखेर ८५ वर्षीया आमा पनि दंग छिन्। आफ्नै निजीनिवासमा जर्बुटा कला संग्रहालय स्थापना गरेका उनका कलालाई व्यवस्थापन गर्ने सम्बन्धमा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले आफ्नो चासो रहेको बताए।

पहिलो संविधान सभाको निर्वाचनपछिको माओवादी सरकारले २०६५/०६६ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित प्राज्ञहरूको नियुक्ति गर्‍यो। नियुक्त प्राज्ञका नाममध्ये एउटा नाम विश्वम्भर लामिछानेको पनि थियो । नियुक्ति लगत्तै यसका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भयो । सर्वोच्चले नियुक्ति गर्दाको माइन्युट झिकायो र बेरीतपूर्ण निर्णय गरिएको भन्दै उक्त निर्णयलाई बदर गर्‍यो। कोरम नपुर्‍याई निर्णय गरिनु नै नियुक्ति बदर हुने कारक बन्न पुग्यो। त्यसैले उक्त घटनालाई उनी प्राज्ञ सपनाको भ्रुण हत्या भनी सम्झिन्छन्।

उब्रिएको अलिकति समय पनि खेर नफाली उनी सिर्जनामा लागिरहेका छन्। दिनभरि दाउरा बोकेर साँझमा जन्मिएको कान्छो छोरो त्यही दाउराकै वरिपरि रमाएको देखेर ८५ वर्षीया आमा पनि दंग छिन्। आफ्नै निजीनिवासमा जर्बुटा कला संग्रहालय स्थापना गरेका उनका कलालाई व्यवस्थापन गर्ने सम्बन्धमा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले आफ्नो चासो रहेको बताए।

नेपाल एकीकरणको अभियानमा ऐतिहासिक महत्व राख्ने सिन्धुली गढीलाई सम्बर्द्धन गर्दै यसलाई तारबारले घेर्ने, सेनाको एक टुकडी त्यहीं बस्ने र यसरी व्यवस्थित भएको गढी घुम्न आउनेहरूले टिकट काटेर घुम्नुपर्ने मेयरले बताइरहँदा नगरपालिका चाहन्छ लामिछानेको जराका कला पनि त्यहीं गढीमा शोभायमान बनून्।

गढी घुम्ने जोकोही व्यक्तिले देखोस् र सिन्धुलीका कलाका साधकप्रति नतमस्तक बनोस् । तर लामिछाने आफूले असाध्यै प्रेमले सुम्सुम्याएका र सन्तानलाई जत्तिकै स्नेह गरेका सिर्जनालाई आफूभन्दा टाढा राख्न चाहिरहेका छैनन् । यस सम्बन्धमा छलफल हुन बाँकी नै छ । स्थानीय ढकाल गाउँका उनका छिमेकी पनि उक्त संग्राहलय त्यहाँबाट सरोस् भन्ने चाहँदैनन् । संग्रहालय र कलाका कै कारण आगन्तुकहरू त्यहाँसम्म आइपुग्ने भएकाले उक्त ठाउँको विकासका लागि पनि संग्राहलय सार्न नहुने स्थानीयको राय छ ।

स्थानीय तहमा लागू हुने गरीे पाठ्यक्रम बनाउन लागेको नगरपालिकाले लामिछानेका कलालाई पनि पाठ्यक्रममा राख्ने संकेत गरेको छ ।
वरिपरिका जंगल, खोला र खहरेले बगाएर ल्याएका रूखका जरा बटुल्दै हिंड्ने लामिछाने जराबाट कला बन्न ती जरा जति पुरानो भए त्यति राम्रो हुने बताउँछन् । आफ्नो हातमा परेको जरा कलामा परिणत हुन कम्तीमा एक हप्ता र बढीमा छ महिनासम्म लागेको बताउने उनका हातमा सबैभन्दा कान्छो सिर्जनाका रूपमा नागनागिनीको एक कलात्मक सिर्जना निर्माणाधिन अवस्थामा छ । यो सिर्जनालाई उनी स्वस्थानी व्रतकथाको एउटा कथ्यसँग जोड्छन् जहाँ गोमा पुत्र नवराजकी पत्नी चन्द्रवतीले स्वस्थानी माताको व्रत गरी साली नदीमा बगाएका आठ रोटीमा चार रोटी नाग र अर्का चार रोटी नागिनीले प्राप्त गरे जो बर्सौंदेखि छुट्टिएका थिए । रोटी लिएर एकअर्कालाई खोज्दै हिंडेका नागनागिनीको मिलनलाई उक्त सिर्जनाले देखाएको छ ।

अधिकांश कलाका शीर्षक छन् । शीर्षकबिनाका कला पनि उसैगरी मुस्कुराएका छन् संग्राहलयमा । सम्भ्रान्त पीडा नाम दिइएको कलामा संम्भ्रान्त भनिएका घरका छोरीबुहारीका पीडा बोलेको छ । आत्माघाती र होटेल ताज शीर्षकको कलामा मुखमा बन्दुक कोचेको एक युवा छ जो मार्न मात्रै नभएर मर्न पनि उत्तिकै तयार रहेको छ । भारतको मुम्बइमा अवस्थित होटेल ताजमा गरिएको आतंककारी हमलापछि लामिछानेले उक्त सिर्जना बनाएका थिए ।

युद्धविराम शीर्षकको कलामा नेपालको नक्सा एक छेउमा मानिस र अर्को छेउमा बन्दुकको टेकोमा उभिएको देखाइएको छ । एकता र विजय शीर्षक कला उत्कृष्ट कलामध्ये एक हो । नयाँ नेपाल नामक कलामा चारतारे र हँसिया हतौडाका झण्डाका बीचमा नेपालको झण्डा राखिएको कला जुन २०६२ पछि बनेको हो । माओवादी शान्ति प्रक्रियामा आउँदै गर्दा चारतारे र हँसिया हतौडा मात्र कलामा देखिनुले यो राष्ट्रमा राजनैतिक आस्थाका आधारमा जनता बाँढिएका छन् भने त्यो कांग्रेस र कम्युनिष्ट मात्र हुन्; अरू जे जति राजनीतिक दलहरू छन् ती केबल यी दुई दलकै वरिपरि छन्; सिद्धान्ततः भिन्न छैनन् भन्ने आशय राख्ने यो कला केही अघिको भए पनि हालै मात्र नेपाली राजनीतिमा देखिएका वाम तथा लोकतान्त्रिक गठबन्धनको अनुमान लामिछानेको कलासचेत मनले उहिल्यै गरेको थियो कि झैं लाग्दछ ।

दमन र चित्कार मध्यकालीन जनयुद्ध, भरोसा, नेपाल भारत मैत्री, शहीद, सारस, चरा संसार, मायादेवी, द्वन्दपीडित चित्कार, वातावरण, फूल फक्रिएको, युद्धपीडित महिला, पृथ्वीको चित्कार, सपना, प्रसव वेदना, विभूति सीता, साहारा, विश्व वातावरण, आमा दिदीबहिनी हो, भृकुटी, यति सेना, माछा, रामायण लिइरहेको भानुभक्तको पूर्णकद, सिमली छाँयामा बसी भरियाले लामो सास फेरेको लगायतका कृतिका स्रष्टा लामिछाने आफैंलाई चाहिँ कुन कला मनपर्छ त सबैभन्दा ? सबै कला उनका लागि अत्यन्त प्रिय छन् जब कुनै एउटा मात्रै छान्नुपर्छ उनी समय नलगाई उत्तर दिन्छन् कि एउटी गर्भिणी जो पिठ्युँमा डोकोको भारी र उक्त भारीमाथि सानो बालक राखेर हिड्दै छे; यो कला उनको मनको अति नै नजिक रहेको छ ।

नारी संवेदनामाथि उनका कलाले प्रशस्त बोलेको छ । समसामयिक राजनीति, विश्व परिवेश, प्रकृति, पर्यावरण, इतिहाससँग पनि संवाद गर्छन् उनका कलाले । प्राविधिक कमजोरीका कारण प्राज्ञ नबनेका उनी आफ्ना कलामार्फत सिंगो प्रतिष्ठान बन्न पुगेका छन् । कलाको गहिरो चेत बोकेका यी साधकका सिर्जनाले राज्यको संरक्षण प्राप्त गरून्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?