क्रिकेट नेपालको ठूलो ब्रान्ड र मार्केट बन्‍न सक्छ

क्रिकेट नेपालको ठूलो ब्रान्ड र मार्केट बन्‍न सक्छ
+
-

घरेलु क्रिकेट व्यवस्थापन विवादमा रहेका बेला मैले सन् २०१४ मा नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना सुरु गरेको थिएँ। घरेलु प्रतियोगिता नभइरहेको अवस्थामा खेलाडीले खेल्न पाउन् र आर्थिकरुपमा पनि सक्षम हुन् भन्ने मेरो प्रयास थियो। राम्रो खेलाडी तयार हुन उसले खेल्न पाउनुपर्छ।

खेल्ने वातावरण हुनुपर्छ। यसमा खेलाडीको आर्थिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ। त्यसैले व्यवसायिक क्रिकेट प्रतियोगिता आयोजना हुनुपर्छ भन्नेमा मेरो सुरुवातदेखि नै जोड थियो।

लामो समय क्रिकेट खेलेका कारण यस खेलप्रति मेरो लगाव र दायित्व दुवै थियो। क्रिकेटको विकास गर्नु मेरो जिम्मेवारी थियो र क्रिकेट विकास आवश्यकता पनि। नेपाली क्रिकेटको अन्तर्राष्टिय सम्भावना ठूलो छ। विश्वका शीर्ष १५/२० टोलीको सूचीमा हामी पर्छौ। क्रिकेटमात्र नेपालको यस्तो खेल हो जसको यू–१९ विश्वकप ६/७ पटक खेलेका छौं। यु–१९ एसिया कप खेलेका छौं। चार वर्षअघिमात्र सिनियर विश्वकप (टीट्वेन्टी) खेल्यौं।

नेपालमा जुन क्रिकेटको क्रेज छ, यो टेस्ट राष्ट्रकै हाराहारीमा छ। यस्तो क्रेज अरु कुनै ‘नन टेस्ट प्लेइङ’ देशमा छैन। भारत, पाकिस्तान,श्रीलंका र बंगलादेशको नजिक भएर पनि हुन सक्छ, हामीमा ‘नेचुरल ट्रान्सफरमेसन अफ ट्यालेन्ट’ छ।

अर्को कुरा हामी नेपालमा ८ महिनाभन्दा बढी समय क्रिकेट प्रतियोगिताहरु आयोजना गर्न सक्छौं, यहाँको हावापानीका कारण। यो अन्य देशमा सम्भव छैन।

हाम्रो ‘फ्यान बेस’का कारण ठूला प्रतियोगिताहरु नेपालले आयोजना गर्न सक्छ। अन्तरदेशीय खेलहरु आयोजनाका लागि नेपाल ‘न्युट्रल भेन्यु’ बन्न सक्छ। यसले खेल पर्यटनको गन्तव्यका रुपमा नेपाल तयार गर्न सकिन्छ। त्यसैले नेपाल क्रिकेटको ठूलो मार्केट बन्न सक्छ। क्रिकेटलाई हामीले नेपालको ब्रान्ड बनाउन सक्छौं, अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने।

यसका लागि नेपाली क्रिकेटको अन्तर्राष्ट्रियस्तर अझ माथि लैजानुपर्ने अवस्था छ। घरेलु क्रिकेट संरचनालाई बलियो बनाउनुपर्छ। तर हाम्रा खेलाडीहरुले राष्ट्रिय प्रतियोगिता बिना नै भने हुन्छ, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहनु परेको अवस्था छ। एकातर्फ नयाँ तथा राम्रा खेलाडी हामीले जन्माउन सकिरहेका छैनौं भने राष्ट्रिय टोलीमा रहेका खेलाडीले समेत आफुलाई पर्याप्त तयार गर्न सकेका छैनन्। तर पनि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता हात पारिरहेको छ। यसबाट क्रिकेटमा हाम्रो ‘पोटेन्सियालिटी’ देखिन्छ। धेरै स्तरिय घरेलु प्रतियोगिता हुने हो भने हामी धेरै माथि पुग्न सक्छौं।

मेरो टिमले केही समय अघि एभरेस्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता आयोजना गर्‍यो। प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भयो। ‘फ्रेन्चाइज बेस’मा सञ्चालन भएको प्रतियोगितामा खेलाडी, प्रशिक्षक , रेफ्री लगायतले राम्रो पारिश्रमिक पाए। प्रायोजकलाई राम्रो ‘माइलेज’ मिल्यो। सबै ‘विन विन’को स्थितिमा रह्यौं।

सबैको मन जितेर प्रतियोगिता सम्पन्न गर्न सक्यौं। तर यस्ता प्रतियोगिता खेलाडीको व्यवसायिक पाटोसँग जोडिने विषय हुन्। खेलाडी जन्मने, खेलाडी तयार हुने र राम्रो खेलाडी बन्ने भनेको घरेलु राष्ट्रिय प्रतियोगिताले हो जसको महत्व देशको अन्तर्राष्ट्रिय क्रिकेट जीवनसँग जोडिएको हुन्छ। घरेलु राष्ट्रिय प्रतियोगिताले क्रिकेट विकासमा फरक भूमिका निर्वाह गर्छ।

भारतकै उदाहरण लिने हो भने त्यहाँ रन्जी ट्रफी र इन्डियन प्रिमियर लिगको छुट्टाछुट्टै महत्व छ। दुवैको भूमिका क्रिकेट विकासमा भए पनि रन्जि ट्रफीको स्थान आईपिएलले कहिल्यै लिन सक्दैन। राष्ट्रिय टोलीमा राम्रो प्रदर्शन नगर्ने खेलाडी रन्जि ट्रफीमा खेलेर आफूलाई पुन: तयार गर्दछ। रन्जि ट्रफीमा राम्रो गर्ने खेलाडी सबैको आँखामा पर्छन, इपिएलसमेतको।

त्यसैले ‘रन्जि ट्रफी’ भारतिय क्रिकेटरका लागि ‘होमवर्क’ गर्ने प्रतियोगिताजस्तो हुन्छ। व्यवसायिक क्रिकेट प्रतियोगिताले क्रिकेट कल्चरको विकास गर्दछ। धेरै घरेलु प्रतियोगिता हुन सकेमा क्रिकेटको मार्केट बढ्छ।

खासगरी व्यवसायिक प्रतियोगिताहरु टीट्वेन्टी स्वरुपको हुने हुँदा नेपालजस्तो एसोसिएट देशमा दुई दिवशीय र एकदिवशीय प्रतियोगिताहरु धेरै मात्रामा आयोजना हुनुपर्छ। त्यस्ता प्रतियोगिताबाट खेलाडीले आफूलाई ‘रिकभर’ गर्छन्। एसोसिएट टोली भएकाले हाम्रो उद्देश्य भनेको टीट्वेन्टी र एकदिवशीय प्रतियोगिता खेल्ने हो। यी दुवै स्वरुपका लागि दुईदिवशीय प्रतियोगिताले सहयोग गर्छ।

लगातार खेलिरहँदा खेलाडीहरु सधै ‘लय’ र ‘फिट’कम रहने सम्भावना भइरहन्छ। तर दुर्भाग्य, हाम्रोमा यी प्रतियोगिताहरु भएकै छैनन् भने पनि हुन्छ। अहिले नेपाली खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताकै भरमा टिकिरहेका छन्। दुई खेल खेलेको भरमा खेलाडीको लय र फिटनेस जाँच हुँदैन। यस्तो अवस्थामा नयाँ खेलाडीले टोलीमा ठाउँ पाउने सम्भावना पनि रहँदैन। नराम्रो खेल्ने खेलाडी टोलीबाट विस्थापित पनि हुँदैनन्। पारस खड्काले पनि टोलीमा ठाउँ बनाउन लय र फिटनेसलाई ध्यान दिनुपरोस्। ५/६ वटा खेल हेरेपछि मात्र यो कुरा थाहा हुन्छ।

यो सबै दिने भनेको घरेलु प्रतियोगिताले हो। कम्तीमा हरेक वर्ष एउटा खेलाडीले घरेलु क्रिकेटमा ३५ भन्दा बढी खेल खेल्नुपर्छ, खासगरी नेपालजस्तो एसोसिएट देशमा। यसका लागि क्रिकेटका सरोकारवाला निकायले योजनाबद्ध रुपमा क्रिकेटलाई विकास गर्नुपर्छ।
क्रिकेट विकासमा सहयोग गर्ने खालका स्कुल क्रिकेट, विश्वविद्यालय क्रिकेट, राष्ट्रिय क्रिकेट, फ्रेन्चाइज क्रिकेटजस्ता प्रतियोगितालाई योजनाबद्धरुपमा वर्गीकरण गर्नुपर्छ जसले गर्दा नयाँ र राम्रा खेलाडीहरुको उत्पादन हुन्छ। क्रिकेट कल्चर र मार्केट बन्छ।

खेलकुद विकासको संयन्त्र यसरी बनाउन सकिएन भने यथोचित विकास सम्भव हुँदैन। तर हाम्रोमा खेलकुदप्रति राज्यको कुनै दृष्टिकोण र योजना देखिँदैन। खेलकुदलाई स्कुलस्तरबाटै विकास गर्नुपर्छ भन्ने राज्यको नीति देखिँदैन। ठूल्ठूला स्कुलमा समेत खेल्ने ठाउँ छैनन्। खेलकुद ‘क्यारेक्टर बिल्डिङ टुल्स’ हो जुन क्याब्रिज र अक्सफोर्ड युनिभर्सिटीमा पढेर पनि पाइँदैन।

मैले बिजनेस पनि बुझेको छु र खेलाडी पनि हुँ। खेलकुद ‘करियर डिफाइनिङ अप्सन’ बन्न सक्नुपर्छ तब मात्र खेलाडी सम्पूर्णरुपमा खेलकुदमा लाग्छ। यसका लागि खेलकुदलाई व्यवसायिकरण गर्नुको अब विकल्प छैन। व्यवसायिकरण तबमात्र सम्भव छ जब प्रायोजन हुन्छ, ठुल्ठूला कर्पोरेट सेक्टरहरुले साथ दिन्छन्। मेरो विचारमा हामीले आयोजना गरेको इपिएलअघि नेपाली खेलकुदमा यति ठुलो प्रतियोगिता आयोजना भएको थिएन।

चार दर्जनभन्दा बढी प्रायोजक यस प्रतियोगितासँग जोडिएका थिए। तर यी प्रायोजक ल्याउन त्यति सजिलो छैन। हरेक प्रायोजकले लगानीको ‘रिटर्न’ खोज्छ जुन हामीले दिन सक्नुपर्छ। उनीहरुलाई बुझाउन सक्नुपर्छ, ‘विन विन’को स्थिति। कसैले भावनाका भरमा एक पटक सहयोग गर्ला तर उसले अन्तत: हेर्ने भनेको ‘रिटर्न’ नै हो।

प्रायोजकको स्वभाव र आफूले आयोजना गर्ने खेलको प्रकृति बुझ्नु महत्वपुर्ण हुन्छ। स्कुल क्रिकेटमा होन्डाले प्रायोजन नगर्न सक्छ तर त्यही ठाउँमा वाईवाईले प्रायोजन गर्न सक्छ। यसमा प्रायोजकसँग कसरी ‘डिल’ गर्ने र ‘प्रोपोजल’ कस्तो बनाउने भन्ने महत्वपूर्ण हुन्छ।

मैले ल्याएको प्रायोजकमा मेरो ब्यक्तिगत सम्बन्ध र मैले बनाएको प्रोपोजल दुवै महत्वपूर्ण थियो। त्यसभन्दा पनि महत्वपूर्ण त्यसको कार्यन्वयन पक्ष हो जसबाट हामीले ‘क्वालिटी’ दिन सक्नुपर्छ।

क्वालिटी दिन सकेमा जति नै धेरै प्रतियोगिता भएपनि हामीले प्रायोजक पाउन गाह्रो हुँदैन, कम्तीमा घाटा हुँदैन। बजार पाउन सकिन्छ कि सकिदैँन भन्दा पनि बजार आफूले सिर्जना गर्ने हो। अहिले इपिएलमा एसोसिएट हुन चाहने प्रायोजक धेरै छन्। व्यवसायिक प्रतियोगिता भएकाले पक्कै पनि यसको सम्बन्ध नाफा घाटासँग पनि होला। तर समग्र क्रिकेट विकास तथा खेलकुद विकासलाई ध्यान दिएर काम गर्ने हो भने हामीलाई कम्तिमा घाटा हुँदैन। यसले खेलाडीलाई दिनानुदिन अझ व्यवसायिक बनाउँदै लग्‍ने निश्‍चित छ।

यतिबेला नेपाली क्रिकेटको ध्यान नामिबियामा बिहीबार सुरु हुने वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा छ। प्रतियोगिताका शीर्ष दुई टोली विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन्। विश्वस्तरको छनोटबाट चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय पाउने नेदरल्यान्ड्ससहित चार एसोसिएट तथा एफिलिएट टोलीको टुंगो लाग्दै छ। यसबाट पनि प्रतियोगिताको महत्व थाहा हुन्छ, नेपालका लागि। अहिले टोलीमा पाँच जना पुराना खेलाडी छन् जसले सन् २००६ अघि नै सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।

बाँकी अधिकांश कम अनुभवी छन्। नेपाली क्रिकेटलाई कहाँ पुर्‍याएर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी यी पुराना खेलाडीमा छन्। तर पुराना खेलाडीलाई विस्थापन गर्न सक्ने पुस्ता अझै पनि देखिएको छैन। अहिले पनि राष्ट्रिय टोलीमा चार पाँच जनाभन्दा बाहेकका खेलाडीले राम्रो खेल्न सकिरहेका छैनन्। मेरो विचारमा हरेक खेल जित्न कम्तिमा चार खेलाडीले राम्रो खेल्नुपर्छ। अबको जिम्मेवारी नयाँ खेलाडीले थाम्ने गरी उनीहरुले खेल्नुपर्छ। पुराना खेलाडीको राष्ट्रिय टोलीबाट बहिगर्मन अघि नेपाली क्रिकेट राम्रो योजना र संरचनामा अघि बढेको हुनुपर्छ। कम्तीमा २० देखी ३० जना खेलाडी ‘ब्याकअप’मा रहनुपर्छ।

(पूर्वक्रिकेटर तथा इपिएल आयोजक प्रमुख आमिर अख्तरसँग लोकेन्द्र प्रसाईँले लिएको अन्तर्वार्ताको सम्पादित अंश अख्तरकै शब्दमा)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?