इलाम-इलाममा सञ्चालन भइरहेको माइभ्याली गोल्डकपको चौथो संस्करण बैशाख ६ गतेबाट हुने भएको छ।
आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले चैत्र १४ गतेबाट प्रतियोगिता आयोजनाको तयारी गरेका थिए।
तर चैत्र १४ गतेबाटै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम तय भएकाले २०७५ बैशाख ६ गतेबाट १५ गतेसम्म संचालन गर्नका लागि एन्फाले माघ १५ गते पत्र पठाएपछि प्रतियोगिता सार्नु परेको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए।
उनले भने, ‘चैत्र १४ गतेबाट प्रतियोगिताको सबै कार्यक्रम तयार गरी माघ १२ गते एन्फामा बुझाएका थियौं तर एन्फाको निर्वाचन कार्यक्रममा खेलाडी, क्लब, अफिसियल लगायत सबै सहभागी हुने भएकाले बाध्य भएका खेलको मिती सार्नु परेको हो।’
यस अघि पहिलो संस्करण र दोश्रो संस्करण माघमा संचालन भएकोमा तेश्रो संस्करण खेलमैदान स्तरोन्नित र मौसमका कारण चैत्र १७ गतेबाट संचालनमा आएको थियो।
चौथो संस्करणको लागी पुरस्कार राशी बढाउदै बिजेतालाई ५ लाख र उप विजेतालाई ३ लाख रूपैयाँ दिने लक्ष्य राखिएको चेम्जोङले बताए।
तेश्रो संस्करणा बिजेताले नगद ४ लाख र उपबिजेताले नगद २ लाख ५० हजार प्राप्त गरेको थियो। गोल्डकपको पाँचौ संस्करण भने २०७५ चैत्रमा नै संचालन गर्ने आयोजक समितिले बताएको छ।