सुर्खेत– माओवादी केन्द्र प्रदेशसभा संसदीय दलको बैठकले सांसद महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको छ।
विहीबार वीरेन्द्रनगरमा बसेको बैठकले कालिकोट प्रदेश (ख) बाट सांसद शाहीलाई संसदीय दलको नेता चयन गरेको हो। शाही संसदीय दलको नेता चयन भएपछि ६ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।
पूर्वमन्त्रीसमेत रहेका शाहीले प्रदेश नं. ६ को मूख्यमन्त्री दावी गर्दै आएका छन्।
एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश नं. ६ को मूख्यमन्त्री माओवादी केन्द्रले पाउनेछ। संसदीय दलको नेतामा शाही चयन भएसँगै उनी मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। ४० सदस्यीय प्रदेशसभामा माओवादीका १३ जना सांसद छन्।
मुख्यमन्त्रीका अर्का आकांक्षी नरेश भण्डारीले पनि संसदीय दलको नेतामा आफ्नो दावी गर्दै आएका थिए। तर, बिहीबार बसेको प्रदेश कमिटीको बैठकले शाही सहमति संसदीय दलको नेता चयन गरिएको जनाएको छ।
यो प्रदेशमा नेकपा एमालेले पनि बिहीबार नै संसदीय दलको नेता छनौट गरिसकेको छ। एमालेले पूर्वमन्त्री यामलाल कंडेललाई संसदीय दलको नेता चयन गरेको हो। नेपाली कांग्रेसले भने केही दिनमै टुंगो लगाउने गरी छलफल गरिरहेको बताइएको छ।
माओवादीले मुख्यमन्त्री पाउने भएपछि प्रदेशमा बहुमत नजिक पुगेको एमालेले भने प्रदेश सभामुख र मन्त्रीमै चित्त बुझाउनुपर्नेछ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































