
काठमाडौं – प्रदेश नम्बर तीनमा मुख्यमन्त्री पदलाई लिएर नेकपा एमाले शीर्ष तहसम्म विभाजित बन्न पुगेपछि अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे भन्दा वरिष्ठ र कम विवादस्पद व्यक्तिको छनौबारे पनि पार्टी भित्र चर्चा हुन थालेको छ।
एमाले एक उच्च स्रोतका अनुसार प्रदेश तीन सभामा ‘प्रोटेम स्पिकर’ डोरमणी पौडेलको नामको चर्चा शीर्ष तहमै गम्भीररुपले हुन थालेको छ।
शुक्रबार विहान निर्धारित प्रदेश संसदीय दलको नेतृत्वमा शाक्य र पाण्डेको अडान यथावत रहेमा केन्द्रीय तहले हस्तक्षेप गर्नु पर्नेबारे पनि शीर्ष तहमा व्यापक छलफल भइरहेको स्रोतले जनायो।
पाण्डेले सार्वजनिक रुपमा नै आफू सबैभन्दा उपयुक्त उम्मेदवार रहेको र शाक्यले अनौपचारिक चलेको एउटा बैठकमा अध्यक्ष केपी ओली लगायतका शीर्ष नेताहरु समक्ष आफुलाई पदबाट बञ्चित गरिएमा एमाले महिला विरोधी मानिने चेतावनी दिएपछि नेतृत्व संकटमा परेको हो।
पार्टी भित्रको अनुमान अनुसार प्रतिष्पर्धामा पाण्डे केही मतले अघि हुन सक्छन्। दोलखाका पशुपति चौलागाई वरिष्ठताका कारण आकांक्षी भएपनि उनी प्रतिष्पर्धामा उत्रिने सम्भावना कम हुने छ।
डोरमणी पौडेल कम विवादास्पद, वरिष्ठ र अनुभवी गाविस महासंघ राष्ट्रिय संयोजक समेत रहिआएका छन्।
पौडेललाई प्रदेशसभाको सभामुखको जिम्मेवारी दिने अनौपचारिक सोच पार्टी नेतृत्वमा रहे पनि मुख्यमन्त्री निर्वाचनमा पाण्डे र शाक्यको कारणले पार्टी एकता र अनुसाशनमा खतरा पुगेमा अन्तिम समयमा उनी मुख्यमन्त्रीका रुपमा प्रस्तुत हुन सक्ने सम्भावना बढेको पार्टी स्रोतले बतायो।