
सुर्खेत – प्रदेश नम्बर ६ मा प्रदेश सभामुख पदका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । प्रदेशसभाको पहिलो बैठकले तय गरेको सभामुख निर्वाचनको कार्यतालिका अनुसार आइतबार उम्मेदवारी दर्ता हुन लागेको हो ।
‘प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि–२०७४’ अनुसार प्रदेश सभामुखका लागि संसद सचिवालयले उम्मेदवारी लिने भएको हो ।
संसद सचिवालयको कार्यतालिका अनुसार आइतबार दिउँसो एक बजे सभामुख पदको उम्मेदवारी दर्ता गरिने प्रदेश संसद सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । सचिवालयले दिउँसो साढे दुई बजे प्रदेश सभामुख पदका लागि परेका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
सोमबार बस्ने प्रदेश नम्बर ६ को दोस्रो प्रदेशसभा बैठकबाट सभामुख चयनको प्रक्रिया सुरु हुनेछ । बैठकमा सभामुख उम्मेदवारका प्रस्तावक सदस्यले उम्मेदवारी प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछन् ।
तर सभामुखका लागि एउटा मात्रै प्रस्तावको सूचना सचिवालयमा प्राप्त भएमा समर्थक सदस्यले बोलेपछि बैठकका अध्यक्ष हिमबहादुर शाहीले प्रस्तावित सदस्यलाई सभामुखमा निर्विरोध निर्वाचित घोषणा गर्नेछन् ।
प्रदेश नम्बर ६ को प्रदेश सरकार एमाले–माओवादी बिचको भागबण्डामा गठन हुने भएको छ । पार्टी एकीकरणको उद्देश्यले चुनावमा होमिएको वाम गठबन्धनले करिब तीन महिना बितिसक्दासमेत पार्टी एकताले पूर्णता पाउन सकेको छैन् ।
दुवै पार्टी एकता नहुँदै प्रदेश सरकार गठन गर्दा ७०/३० को भागबण्डा मिलाएका छन् । सोही अनुसार नेकपा एमालेले यो प्रदेशमा सभामुख पाएको छ । प्रदेशमा सबैभन्दा बढी सिट जितेको एमालेले भागबण्डाका कारण सभामुखसहित पाँच मन्त्रीमा चित्त बुझाउनुपर्नेछ ।
माओवादी केन्द्रले भने मुख्यमन्त्रीसहित तीन मन्त्री पाउनेछ । प्रदेश ६ मा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा बाट ४० जना प्रदेशसभा सदस्य रहेका छन् ।
सम्बन्धित समाचार