सुर्खेत– एमाले नेता राजबहादुर शाही पर्यटन, जलविद्युत लगायतको प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ६ को प्रदेश सभामुख बनेका छन्। सोमबार प्रदेश मुकाम वीरेन्द्रनगरमा बसेको दोस्रो प्रदेश सभा बैठकले शाहीलाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो।
मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका शाही प्रदेशसभाको पहिलो सभामुख हुन्। प्रदेशसभा सदस्य प्रकाश ज्वालाले सोमबार बसेको संसद बैठकमा शाहीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।
प्रस्ताव पेश गर्दै उनले सभामुख पदका लागि प्रतिपक्ष दल कांग्रेसले उम्मेदवारी नदिनु पार्टीहरुबीचको प्रदेश विकास र समृद्धिका लागि अगाडि बढ्ने अवसरको सन्देश भएको बताए।
‘यस प्रदेशमा धेरै चुनौती छन्। भुगोल धेरै जनसंख्या कम छ। भौगोलिक विकटता, अविकास, वेरोजगारी र गरिविलगायतका समस्या छन्,’ उनले भने, ‘६ नम्बर प्रदेशमा विकास, प्रदेश जनाका खुसी र समृद्धि सबैका एजेण्डा हुन्। त्यसैले कानुन निर्माण गर्ने, विकास निर्माणमा पारदर्शिता गर्ने, विधि, कार्यक्रम बजेटलाई अगाडि बढाउने कुरा सभामुखको भुमिका हुनेछ।’
सभामुखको गरिमामय पदमा बसेको व्यक्तिले कुनै पार्टीको सदस्यको हैसियतमा नभई प्रदेश सभाको साझा नेतृत्वको हैसियतमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
एमाले नेता ज्वालाले पेश गरेको सभामुखको प्रस्तावमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए।
संघीयता नेपालका लागि नयाँ अभ्यास भएको भन्दै शाहीले कार्यान्वयनका लागि सबै राजनीतिक नेतृत्वले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए।
ज्वालाको प्रस्तावमा समर्थन गर्दै शाहीले जनताले राष्ट्र निर्माणका लागि दिएको दायित्व पुरा गर्न एकजुट हुनुपर्ने बताए।
गरिवी र विभिन्न समस्याले ग्रसित ६ नम्बर प्रदेश समृद्ध बनाउन सत्ता पक्ष र प्रतिपक्ष भन्दा पनि सहकर्मीको भूमिकामा राजनीतिक दलहरुले भुमिका निर्वाह गर्नुपर्ने उनले बताए।
गाविस अध्यक्षदेखि सभामुखसम्म 
नेकपा एमालेका नेता राजबहादुर शाही पार्टी जिल्ला कमिटीमा भलाद्मी र बौद्धिक नेताका रुपमा चिनिन्छन्। उनको जन्म दैलेखको ठाँटीकाँध गाविस वडा नम्बर ७, छडाथान (हालको ठाँटीकाँध गाँउपालिका वडा नं ६) मा विसं. २०२६ साल मंसिर २१ गते भएको हो।
२०३९ सालमा नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनको सदस्यता लिएर राजीतिक यात्रा सुरुवात शुरु गरेका शाहीले विसं. २०४५ सालमा पार्टी सदस्यता लिएका थिए। विस २०४७ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको नेक्रावि संघका अध्यक्ष भएका शाही २०४८ मा मजदुर किसानका जिल्ला कमिटी दैलेखको सदस्य भएका थिए।
२०५२ सालमा उनले नेकपा एमाले प्रवेश गरेका थिए। मजदुर किसानको जिल्ला कमिटी एमालेमा विलय भएसँगै उनी निरन्तर राजनीतिमा सक्रिय छन्। २०५४ सालमा शाहीले स्थानीय निकायको निर्वाचनमा तोलिजैसी गाविसको अध्यक्ष पदमा विजय प्राप्त गरेका थिए।
२०६९ सालदेखि एमालेको नवौं महाधिवेशन अञ्चल समन्वय कमिटीको जिम्मेवारी सम्हालेका शाही अहिले पार्टीको कुनै जिम्मेवारी पदमा भने छैनन्।
सभामुखमा भएपछि शाहीले ऐतिहासिक जिम्मेवारी पाएको बताउदै इमान्दारिताका साथ पुरा गर्ने बताए। उनले भने, मलाई नितान्त नयाँ जिम्मेवारी प्राप्त भएको छ, सबैसंगको सहकार्यमा संसदलाई जिम्मेवार र मर्यादित बनाउन मेरो भूमिका रहन्छ। शाहीले प्रादेशिक संरचना नयाँ भएकोले थुप्रै ऐन कानून बनाएर संघीय संरचनालाई व्यवहारमै उर्तानु पर्ने भएकोले अव आफ्नो ध्यान त्यतातिर जाने बताए।
उपसभामुखको निर्वाचन फागुन पाँच गते
प्रदेश नम्बर ६ को उपसभामुखको निर्वाचन आगामि फागुन पाँच गते हुने भएको छ। प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरी खड्काले सोमबार उपसभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेका छन्।
उनले सार्वजनिक गरेको कार्यतालिका अनुसार उपसभामुखको निर्वाचन फागुन पाँच गने शनिबार एक बजे हुनेछ। सचिवालयले निर्वाचन अघिल्लो दिन फागुन चार गते उम्मेदवारी दर्ता गराउने छ।
एमालेसँग भएको भागबण्डाको सहमति अनुसार माओवादी केन्द्रले उपसभामुख पाउने छ। सभामुख पुरुष भएपछि माओवादी केन्द्रले महिला उपसभामुख पठाउनु पर्नेछ। माओवादी सांसदहरु बिमला केसी, कृष्णा शाह र सिता नेपाली उपसभामुखका लागि इच्छुक देखिएका छन।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































