
विर्तामोड- काठमाडौं बाहिरको सर्वाधिक पुरस्कार राशिको ‘झापा गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन १९ गतेदेखि सुरु हुने भएको छ।
गोल्डकपमा १० टीमको सहभागिता रहने आयोजक समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो।
आयोजक झापा ११ सहित मनाङ मर्स्याङदी क्लब, थ्री स्टार, हिमालयन शेर्पा, सुदुर पश्चिम ११, रुपन्देही ११, विभागीय टीमहरु नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी तथा भारत सिक्किमको युनाइटेट क्लबको सहभागिता रहने गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए।
गोल्डकपको बिजेता टोलीले १२ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने गिरीले बताए। अघिल्लो बर्ष बिजेताले ७ लाख रुपैयाँ प्राप्त गरेको थियो।
नक आउटका आधारमा हुने प्रतियोगिताको उपबिजेताले ६ लाख रुपैंयाँ पाउने जानकारी गिरीले दिएका छन्। म्यान अफ द म्याचलाई २५ हजार रुपैंयाँ दिइने आयोजकको भनाइ छ।