
पोखरा- संक्रमणकाल अन्त्यका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले तीन वर्षसम्म पनि द्वन्द्व पीडितलाई न्याय दिन नसकेको सरोकारवालाहरुले बताएका छन्।
पोखरामा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको संक्रमणकालीन न्याय सम्बन्धी सरोकारवालाबीच आयोजित अन्तर्क्रिया कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगले द्वन्द्वपीडितको घाउ बल्झाएको र काम नगरेको भन्दै द्वन्द्व पीडितले आक्रोश पोखेका हुन्।
उनीहरुले आयोगले खाटो बसिसकेको पीडितको घाउ बल्झाएको भन्दै पीडितको भावनामाथि खेलवाड नगरी न्याय दिन आयोगलाई आग्रह गरेका छन्।
प्रदेश ४ का विभिन्न जिल्लाबाट आएका द्वन्द्व पीडितले बर्षौँदेखि आफूहरु पीडामा रहेको तर कसैले पनि पीडितको समस्या सम्बोधन नगरेको बताए। कार्यक्रममा बोल्दै द्वन्द्व पीडित कल्पना सुवेदीले आयोगले ३ वर्षको अवधिमा कुनै पनि उपलिब्धमूलक काम गर्न नसकेको भन्दै दुख व्यक्त गरिन्। ‘जुन आशा थियो आयोगबाट त्यो आशा मर्यो,’ उनले भनिन्, ‘अब थपिएको एक वर्षको अवधिमा द्वन्द्व पीडितलाई न्याय दिने काममा लाग्नुस्, घाऊ बल्झाउनमात्रै नआउनुस्।’
द्वन्द्व पीडित देवीलाल लामिछानेले द्वन्द्वका १३ वर्ष को छोरो बेपत्ता पारेको भन्दै ‘कि सास कि लास’ देखाएर पार लगाइदिन अनुरोध गरे। अर्का पीडित राधिका सिंखडाले २०५४ सालमा श्रीमान बेपत्ता हुँदा १ वर्षे छोरी काखमा भएको स्मरण गरिन्।
‘पीडा र आर्थिक अभावले छोरीलाई पढाउन सकिन, अहिले छोरीले तरकारी बेचेर जीविकोपार्जन गर्नु परेको छ,’ उनी भक्कानिइन्।
द्वन्द्वपीडित सालिकराम पौडेलले २४ बर्ष छोरा बेपत्ता हुँदाको पीडाले मनोरोगी भएको बताए। उनले भने, ‘छोरासँग गिरफ्तार भएका सांसद भए तर छोरोको न सास छ न लाश नै, यही पीडाले मनोरोगी बनायो।’
न्यायका लागि द्वन्द्व पीडित समाजका अध्यक्ष कृष्णप्रसाद पराजुलीले आयोगका पदाधिकारीले सुविधा उपभोगमा मात्रै रमाएको भन्दै काम नगर्न नसके राजीनामा दिएर बस्न आग्रह गरे। उनले आयोगले तीन वर्ष सम्म गरेको काम सार्वजनीक गर्न नसक्नुनै आयोगको लाचारी भएको बताए।
कार्यक्रममा द्वन्द्व पीडित गोमा घिमिरे, जमुना शर्मा, जयकृष्ण पोखरेल,सिताराम थापा, कल्पना सुवेदी, राम बहादुर थापा, अणनाथ बराल, विमल केसी, सावित्री खड्का, अमलप्रसाद भटटराई, लगायतले द्वन्द्व पीडितको सहभागिता बिना राजनीति, भागवण्डाबाट गठित आयोग पीडितप्रति जिम्मेवार र संबेदनशील हुन नसकेको उनीहरुको भनाइ थियोे।
कार्यक्रममा द्वन्द्व पीडित समाज साझा चौतारीका अध्यक्ष बद्री बहादुर केसिले पीडितलाई न्यायको साथ साथै परिपूरणको ब्यवस्था हुनुपर्ने बताए। उनले आयोगले अहिले सम्म गरेको कामबारे पीडितलाई जानकारी गराउन माग गरे ।
कार्यक्रममा द्वन्द्व पीडितको जवाफ दिँदै सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डाक्टर माधवी भट्टले अहिले आयोगमा ६० हजार उजुरी रहेको जानाकारी दिइन् । यसकालागि अब सबै मुकामहरुमा मेलमिलाप आयोगकको कार्यालय बनाउने सोचमा रहेको भन्दै आयोगबाट स्वतन्त्र र निष्पक्ष रुपबाट उजुरी माथि अध्ययन अनुसन्धान भइरहेको बताइन् ।
वेपत्ता छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले वेपत्ता आयोगमा तीन हजार बढि उजुरी रहेको जानकारी दिए । २ सय ६ माथि विस्तृत अनुसन्धान भइरहेको बताए । उनले भने – ‘केहि कठिनाईहरु भए काम ढिला भयो ,प्रक्रियागत रुपबाट अघि बढेका छौ अब पीडितलाई न्याय दिन निरन्तर काम हुनेछ ।’
राष्ट्रिय मानव अधिकार आयोगका सदस्या सुदिप पाठकले पीडितलाई न्याय दिने प्रयासकालागि कुनै एक व्यत्तिले मात्र सम्भव नहुने भन्दै न्यायको बाटोमा सरोकारवाला सबैले पहल गर्नु पर्ने बताए । उनले केहि चुनौती भए पनि असम्भव नभएको बताए ।
कार्यक्रममा संक्रमणकालिन न्यायको बर्तमान अवस्थाको बारेमा आयोगका फोकल अधिकृत खिमानन्द बस्यालले प्रस्तुती राखेका थिए । अध्यक्षता ग्रहण गरिरहेकी राष्टिय मानव अधिकार आयोग पश्चिमाञ्चलकी प्रमुख नितु गर्तौलाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।