
काठमाडौँ- अन्तिम समयमा नेकपा एमाले र माओवादी केन्द्रबीच सत्तामा सहभागिता तथा एकता प्रयासमा व्यवधान देखा परेपछि माओवादी थप सशंकित बन्न पुगेको छ।
यो व्यवधान एमाले बाह्य शक्तिहरुबाट प्रभावित भएका कारण भएको हुनसक्ने आशंका समेत माओवादीभित्र बढ्न थालेको छ ।
माओवादीका एक प्रभावशाली नेताका अनुसार प्रधानमन्त्री नियुक्ति भन्दा एक दिन पहिला (बुधबार) एमालेले मानवभवन वार्तामा फेरि जनताको बहुदलीय जनवाद (जवज)लाई मात्रै एकीकृत वाम पार्टीको मार्ग निर्देशक सिद्धान्त हुनुपर्ने अडान लिएपछि उसको नियतमाथि माओवादी नेतृत्व तहमै प्रश्न उठ्न थालेको हो।
स्रोतका अनुसार ओली बैंककमा उपचारमा छँदा केही विदेशीसँग उनको भेटघाट र यही माघ १८ गते भारतीय विदेशमन्त्री सुषमा स्वराजको उनीसँगको गोप्य मन्त्रणा पनि अन्तिम क्षणमा आएर एकतामा तगारो बनेको विश्लेषण माओवादीमा हुन थालेको छ।
बुधबार राति नै ‘शिलबन्दी’को चरणमा पुगिसकेको ओली दाहाल समझदारी विपरित एमालेले जवज मुद्धा उचालेपछि माओवादीले प्रतिक्रियामा २१ औं शताब्दीको जनवादलाई पनि एकीकृत पार्टीको मुख्य मार्ग निर्देशक नीतिकै रुपमा राख्नु पर्ने अडान लिएको थियो ।
नयाँ विवादबीच वामएकता र ओली सरकारलाई बाहिरबाट समर्थन जनाए पनि त्यसमा माओवादी सहभागिता हाललाई रोकिएको हो।
एमालेप्रति संशकित माओवादीले प्रधानमन्त्रीको नेतृत्वको निश्चित म्याद अथवा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कुन मितिबाट सरकारको नेतृत्व सम्हाल्ने हो त्यो किटान गर्नुपर्ने र मन्त्रीपरिषदमा सम्मान र समानताको नीति अनुरुप माओवादीले पनि आधा स्थान पाउनु पर्ने नयाँ सर्त अघि सारेको स्रोतले बताएको छ।
अविश्वास बढेपछि दुई शीर्ष नेताहरुमा बुधबार रातिदेखि वार्ता हुन नसकेकोले थाती रहेका सैद्धान्तिक र संरचनात्मक मुद्धामा वाम एकता संयोजन समितिको बैठक समेत हुन सकेको छैन।
समितिका सदस्यहरु दुई शीर्ष नेताबीच सहमति बनेपछि मात्रै त्यसलाई औपचारिकता दिने तयारीमा थिए।
अनौपचारिकरुपमा व्यवधान हटाउन अभ्यास भइरहेको र त्यसले केही सकारात्मक गति पाएमा शनिबार ओली र दाहालबीच भेटवार्ता हुन सक्ने स्रोतले बतायो।