
पोखरा – प्रदेश नम्बर ४ मा शुक्रबार बिहान विशेष समारोहका बिच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रअधिकारी र प्रदेशसभा सदस्य रामशरण बस्नेतले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए । उनीहरुलाई प्रदेश प्रमुख बाबुराम कुवँरले शपथ खुवाए ।
मुख्यमन्त्रीले शपथ ग्रहण गरेपछि धेरैको चासो मन्त्री को ? बन्ला भन्नेमा केन्द्रित थियो । गठबन्धनबाट बहुमत सिट जितेको एमाले माओवादीका निर्वाचित केही सदस्य एक से एक रुपमा आफूहरुलाई मन्त्री पदको दाबेदारको रुपमा प्रस्तुत गरिरहेकै बेला शुक्रबारको शपथ ग्रहण मुख्यमन्त्रीसहित एक मन्त्रीले मात्रै गरे ।
सोही दिन बेलुका मात्रै हरिबहादुर चुमानलाई आन्तरिक मामिला तथा कानुन (गृह) र लेखबहादुर थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा नियुक्त गरिएको हो । सुरुमा माओवादीले मन्त्रीका विषयमा टुंगो लगाउन नसकेपछि ।
माओवादी केन्द्रले शुक्रबार साँझ बल्ल आफ्नो भागमा परेका दुई मन्त्री पठाएको हो । उनीहरुको जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार नै शपथ गराईएको छ । योसँगै प्रदेश ४ मा चार सदस्यीय मन्त्रीपरिषद गठन भएको छ । एकै दिन दुई पटक प्रदेश प्रमुखले मन्त्रीलाई सपथ खुवाउनु पर्यो । थप दुई मन्त्रीहरुले शुक्रबार नै पदबहाली गरेका छन् ।
चुमानलाई देव गुरुङ र थापालाई हरि अधिकारीले अघि सारेका हुन् । चुमान एकता प्रक्रियाका क्रममा देव गुरुङसँगै माओवादी छिरेका हुन् भने लेखबहादुर थापा हरि अधिकारीका नजिकका नेता मानिन्छन् ।
माओवादी केन्द्रले मन्त्रीमा सिफारिस गरेका नामका विषयमा अहिले माओवादी केन्द्र भित्र असन्तुष्टी बढेको छ । माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलका उपनेता रामजी बरालले गुट हावी भएको प्रतिक्रिया दिएका छन् भने अर्का पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले पनि यो पार्टी र संसदीय दलको निर्णय नभएको बताएका छन् ।
असन्तुष्ट सांसदहरु मन्त्रीको सपथ ग्रहणमा समेत उपस्थित भएनन् । कास्कीका दीपक कोइराला, रामजी बराल, गायत्री गुरुङ, स्याङ्जाका दीपक चर्तीमगर, म्याग्दीका विनोद केसी, बागलुङका चन्द्रबहादुर बुढा लगायतका सांसद देखिएनन् ।
मन्त्रीका आंकाक्षी धेरै भएकै कारण थोरै पदमा मिलाउन गाह्रो भएको मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । प्रदेश ४ मा सात मन्त्रालयमा मुख्यमन्त्रीसहित पाँच एमाले र दुई माओवादी केन्द्रलाई परेको छ । गठबन्धनको प्रदेश ४ मा ३९ सिट रहेको छ ।