
सुर्खेत– प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। मूख्यमन्त्री चयन भएको चार दिन पछि शाहीले मन्त्रीपरिषद् विस्तार गरेका हुन्। प्रमुख सत्ता साझेदार दल एमालेले मन्त्रीहरुको टुंगो लगाउन नसक्दा शुक्रबार हुने भनिएको मन्त्रीपरिषद् विस्तार लम्बिएको थियो।
गठबन्धनबीच आज मन्त्रालय बाँडफाँटमा पनि सहमति जुटिपछि मुख्यमन्त्रीसहित ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो। तीमध्ये एमालेले चार, मुख्यमन्त्रीसहित माओवादी केन्द्रले तीन मन्त्रालय पाएका छन्। आईतबार सबै मन्त्रीहरूले सपथ लिएलगतै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
जुम्लाका सांसद नरेश भण्डारीले आन्तरिक मामिला तथा कानून मन्त्रालय र रुकुमकी सांसद विमला केसीले भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय सम्हालेकी छन्। भण्डारी र केसी माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका हुन्।
त्यस्तै, नेकपा एमालेका तर्फबाट सल्यानका सांसद प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेतका सांसद खड्ग खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय, डोल्पाका सांसद नन्दसिंह वुढाले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र हुम्लाका सांसद दल रावल सामाजिक विकास मन्त्रालय सम्हालेका छन्।
पदभार ग्रहण गर्दै ६ नम्बर प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री केसीले प्रदेशवासीको जनजीवन परिवर्तन हुने गरी काम गर्ने प्रतिवद्धता जनाएकी छन्। उनले प्रदेशको गरिविसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय पाएकोले जनताको पक्षमा काम गर्ने बताइन्।
प्रदेशमा बाँझो जग्गा नराख्ने गरी मन्त्रालयबाट निती तथा कार्यक्रम तयार पार्ने बताइन्। यस्तै, अतिक्रमण गरिएको भूमि व्यवस्थापन, सुकुम्बासी समस्या अन्त्यसम्वन्धि नीति तथा योजनालाई प्राथमिकतामा राख्ने बताइन्। ‘बहुसंख्यक जनता कृषिमा आधारित छन्।’
उनले भनिन्,’प्रदेशवासीका समस्या समाधान हुने गरी मन्त्रालयले नीति तथा कार्यक्रम लागु गर्छ।’ सामाजिक विकास मन्त्रालय सम्हाल्ने चर्चामा रहेकी केसीले भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएकोमा पश्चाताप नभएको बताइन्। ‘कृषि तथा सहकारी मात्रै भएको अहिले आएर थाहा पाए।’