
सुर्खेत– प्रदेश नम्बर ६ मा विषदी प्रयोग गरिएको बस्तुको आयातमा प्रतिवन्ध लगाइने भएको छ। विषदी प्रयोग गरेको बस्तुले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले उक्त बस्तुको आयात रोक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
प्रदेश पाँचको रुपहडियाँ नाकाबाट विषदी प्रयोग गरिएको भारतीय बस्तु भित्रिएपनि ६ नम्बर प्रदेशमा भने आयात प्रतिवन्ध लगाउने भएको हो।
जसका लागि प्रदेशमा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन गरिने भएको छ। ६ नम्बर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश भित्र उत्पादन हुने आर्गनीक बालीको प्रवद्र्धन गरी विषदी प्रयोग गरिएको सामग्रीको आयात प्रतिवन्ध लगाउने बताए।
‘कोदो, फापर, ज्यौं, कागुनोलगायतका आर्गनिक खाध्यान्न उत्पादनलाई प्राथमिकताकामा राखिएको छ’ उनले भने,‘विषदीयुक्त खाद्यान्नका कारण हुने समस्या केही महिनामै न्यूनिकरण हुन्छ।’ आर्गनिक कृषि उत्पादनको प्रर्वद्धनका लागि आवश्यक रणनीति बनाएर अगाडी बढाइने बताए।
यसैबीच, उनले प्रदेश सरकारको पहिलो मन्त्रीपरिषदको निर्णयले नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। ‘प्रदेशमा जलवायु परिवर्तन रोक्न एक व्यक्ति १० विरुवा रोप्ने निर्णय अघि सारिएको छ’ उनले भने,‘जनताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने निर्णय मन्त्रीपरिषद्को वैठकले पहिलो प्राथमिकतामा पारेको छ।’
घर–घरमा स्वास्थ्य अभियान अन्तरगत ग्रामिण वस्तिहरुमा डाक्टरहरु पुगेरै स्वास्थ्य उपचार बारे जानकारी लिन एक वर्षे स्वास्थ्य अभियान सुरुवात गर्ने उनले बताए। ‘प्रदेशबासीले एक वर्षमा घर–घरमा स्वास्थ्य उपचार पाउने छन्’
उनले भने,’स्वास्थ्य सचेतना मात्रै होइन् आनीवानीमा समेत परिवर्तन ल्याउन गरी अभियान सुरुवात हुन्छ।’ उनले वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पताल प्रदेशस्तरको अस्पतालका रुपमा विकास गरी नमूना अस्पताल बनाइने बताए।