
अन्दाजी २५ वर्षकी महिला कारुणिक अवस्थामा भन्सार हाकिमसँग अनुनयविनय गर्दैछिन्, ‘सर, मलाई पचासग्राम काँचो सुन मेरी सासुले बिहेमा उपहार दिनुभएको हो, मलाई यो कानुनबारे थाहा थिएन। मलाई २० मिनेट समय दिनुस्। जरिवाना रकम लिएर बबरमहलबाट मेरो मान्छेहरु आउँदै हुनुहुन्छ।’ कार्यालय बन्द हुनै लाग्दा एयरपोर्ट भन्सार प्रमुख नारायण सापकोटा आफ्ना कुनै अधिकृतलाई फोन मार्फत उनलाई हिरासतमा नपठाई हाल्न र जरिवाना रकम लिएर आउन लागेको व्यक्तिको प्रतीक्षा गर्न आग्रह गर्छन्।
….
-रोल्पाका ५ जना कामदार युवाहरुले कतारबाट फर्कँदा हरेकले १० ग्रामदेखि १९ ग्रामसम्म काँचो सुन ल्याए, कसैले श्रीमती, कसैले बहिनी तथा आमाका लागि। तर, सुन तस्करीको आरोपमा अहिले उनीहरु प्रहरी हिरासतमा छन्। उनीहरुका सामान अलपत्र छ।
….
-भारतको मणिपुरमा एउटा सामान्य रेस्टुराँमा ‘सेफ’को काम गर्ने एक जना ४७ वर्षीय अमेरिकी नागरिक र उनकी भारतीय पत्नी ‘हनिमुन’का लागि नेपाल आए। नगद सकिएमा काम लाग्छ भन्ने सोचले करिब १५० पचासग्राम काँचो सुन पनि ल्याए उनीहरुले। विमानस्थलमा सुन तस्करीको मुद्दा लाग्ने थाहा पाएपछि पतिले आफूसँग भएको ‘बाइबल’ अगाडि राखी प्रार्थना र रुने चिच्याउने काम एकैपल्ट गर्न थाले। उनको भारतीय पत्नी नेपालको कानुन र त्यहाँबाट बिना कुनै अभियोग बच्नेबारे बुझ्न थालिन्, विमानस्थलकै भन्सार कर्मचारीहरुसँग। अनि एक जना अधिकृतसँग मनिषा कोइरालासँग सम्पर्क गराइदिन पनि आग्रह गरिन् उनले।
‘के तपाई मनिषा कोइरालालाई चिन्नु हुन्छ ?’ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘म उनको फ्यान हुँ। म मद्दतका लागि उहाँसँग अनुरोध गर्न सक्छु।’ तर केही घण्टामा ती महिलाले सुनको मूल्य बराबरको बिगो जरिवाना करीब साढे सात लाख रुपियाँ बुझाउन आफ्ना सम्पर्कबाट खोजखाज गरे। हनिमुनका लागि रोजेको गन्तव्य पोखरा पुग्न सके की सकेनन् उनीहरु यो हरिविजोगपछि, थाहा हुन सकेन।
….
विगत दुई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागमा धेरै यात्रु, कारोबारी र कर्मचारीहरुको उपस्थितिमा घटेको हृदयविदारक घटना हुन् यी। तर यस्ता घटनाको संख्या धेरै छ र त्यसका भु्क्तभोगीहरुको पीडा अझ ठूलो छ।
भन्सार ऐन अनुसार काँचो सुनमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ। र, जति सानो मात्रामा भए पनि त्यसलाई जफत गरी त्यही सुनको मूल्य बराबरको जरिवाना लगाइन्छ, त्यो सुन फेला परेको व्यक्ति माथि। जरिवाना तिर्न नसके जेल ठोकिन्छ।
सुन तस्करीले विशाल आयतन लिएको छ, केरुङ र रसुवा सीमा र त्रिभुवन विमानस्थलमा ठूलो मात्रा जफत पनि भएको छ। ती ठूला तस्करीका भरियाहरु गिरफ्तार भए पनि त्यसका नाइकेहरु गिरफ्तार हन सकेका छैनन्, अधिकांश मामिलामा। तर, नेपालको अर्थतन्त्रमा रेमिट्यान्स मार्फत ठूलो योगदान पुर्याएका कामदार खाडीबाट फर्कदा घर पुग्नुअगावै ‘तस्कर’ घोषित गरिन्छन्। तीमध्ये केही सानो मात्रामा आफ्नै घरपरिवारका लागि काँचो सुन ल्याएबापत।
कानुनबारेको अज्ञानता अपराधको उन्मुक्तिको आधार बन्न सक्दैन। तर, काँचो सुनको आयातलाई पूर्ण रुपमा बन्देज गर्ने, त्यसलाई जफत गर्ने र त्यति नै मूल्यको बिगो भराउने र त्यो नहुँदासम्म सम्बन्धित व्यक्तिलाई थुनामा राख्ने कामले शक्तिशाली तथा बुझेर अपराध गर्ने तथा कानुन नबुझेर आफ्ना लागि बन्देज गरी गरिएका वस्तु ल्याउँदै ‘तस्कर’ बनाइने दुई अलग श्रेणीका नागरिक सिर्जना गरेको छ, यो ऐनले।
‘केही यात्रुका मामिलामा म अपराधबोधका साथ कानुनको कार्यान्वयन गर्छु, तर यी कानुन हटाएमा या काँचो सुनको एउटा न्यूनतम मात्रामा आयात निर्धारित गरिएमा म अत्यन्त खुशी हुनेछु,’ विमानस्थल भन्सार प्रमुख नारायण सापकोटा भन्छन्।
नेपालमा भ्रष्टाचार व्याप्त छ। वास्तवमा नेपालमा सबभन्दा पारदर्शी भ्रष्टाचार नै छ। त्यसबाट सत्ताका राजनीतिज्ञ र तिनका मातियारहरु सबभन्दा बढी लाभान्वित भएका छन्। र, त्यसमा कसैलाई जवाफदेही बनाइएको छैन।
मन्त्रिपरिषदले गरेको निर्णयले नीतिगत हैसियत बनाउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायराबाट त्यसलाई बाहिर राख्ने निर्णय गरेर मन्त्री बाहेक अरु मात्र भ्रष्ट हुनसक्ने कानुन मुलुकमा छ।
रोल्पा, रुकुम, सिरहा, सप्तरी, महोत्तरी, दोलखा या सोलुबाट खाडीको गर्मीमा पसिना र रगत बगाउने क्रममा उनीहरुमध्ये केही लास कफिनमा आउँछन्। बचेकाले घरका लागि केही काँचो सुन ल्याउँछन्। तर, घर नपुग्दै काठमाडौं विमानस्थलमै उनीहरु ‘तस्कर’ बन्न पुग्छन्।
यो व्यथा कृष्णबहादुर महरादेखि ज्ञानेन्द्रबहादुर कार्की मात्र हैनन्, प्रधानमन्त्रीका रुपमा केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा सबैलाई थाहा छ। ती अवोध ‘तस्कर’ हरुको आँसुले पोलेको अनुभव उनीहरुले गर्नुपर्ने छैन। किनकि प्रधानमन्त्री र मन्त्री भ्रष्ट हुनै सक्दैनन् भन्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ।
त्यसैले चाहे मणिपुरबाट आएको त्यो हनिमुन दम्पत्ति होस् या बबरमहलकी ती बुहारी, जसका लागि सासुको उपहार अभिशाप बन्न पुग्यो या ती रोल्पाली युवा जो प्रहरीकै हिरासतमा छन्, यी प्रतिनिधिमध्ये घटनाको पुनरावृति भइ नै रहनेछ।
काँचो सुनको आयातलाई केही मात्रामा भए पनि वैध बनाइदा सम्भवत: त्रिभुवन विमानस्थलमा ती कारुणिक दृश्यहरु दोहोरिने छैनन् कि! हुन त ती विचराहरुलाई सुन्ने फुर्सद प्रधानमन्त्री या मन्त्रीहरुसँग होला र?