काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पहिला सुपर सिक्स त्यसपछि वर्ल्डकपको सपना रहेको बताएका छन्।
सरकारले दिने भनेको तीन लाख रुपैयाँको चेक हस्तान्तरण कार्यक्रममा सहभागी हुन वालुवाटार पुगेका क्रिकेट टोलीका कप्तान खड्काले देश सञ्चारसँग कुरा गर्दै भने, ‘ नेपाली राष्ट्रिय टोलीको पहिलो लक्ष्य भनेको सुपर सिक्स नै हो। सुपर सिक्समा पुगिसकेपछि मात्रै वर्ल्डकपमा सहभागी हुने सपना देख्नुपर्छ।’

सरकारको तीन लाख रुपैयाँको चेक हस्तान्तरण कार्यक्रममा सहभागी हुन वालुवाटार पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सहकर्मीका बीचमा मोबाइलमा म्यासेज हेर्दै। तस्बिर- आरजू/देश सञ्चार
उनले नेपाली क्रिकेटको प्रदर्शन टीममा निर्भर रहने बताउँदै अरु पक्षलाई पनि बलियो बनाउनु पर्ने औल्याए। उनले भने, ‘नेपाली क्रिकेटर टोलीले टीममा राम्रो प्रदर्शन गर्न सक्नुपर्छ। ब्याटिङमा कमजोर लगायतमा पनि ध्यान दिनुपर्छ। तर समग्रमा सहकार्य गरेर खेल्नु नै उत्कृष्ट हो।’
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारको तर्फबाट जनही ३ लाख रुपैयाँको चेक मदन भण्डारी स्पोर्टस् एकेडेमीको तर्फबाट एक लाख रुपैयाँ नगद दिएका छन्।