यो कस्तो कानुन: काँचो सुन ल्याउन पाइन्न तर बेरुवा ल्याए हुन्छ

यो कस्तो कानुन: काँचो सुन ल्याउन पाइन्न तर बेरुवा ल्याए हुन्छ
+
-

काठमाडौं- ग्राहकको भिडमा एक जना फुत्त निस्किए र ब्यस्त रहेका  सुन पसलेको ध्यान तान्दै साेधे- सुन किन्ने हो ? पसलले ग्राहकले ल्याएको सुन हेरिसकेर गल्लातर्फ हेर्दै  मुस्कुराएर जवाफ दिए- अाज क्यास छैन, शनिबार परेकाले।

पसलेको जवाफ सुनेर ग्राहक निराश भएर फर्किए।  पसलेले अन्यको ध्यान तान्नु अस्वभाविक थिएन।

पसलेलाई सोधें- त्यो सुनको मात्रा कति थियो, तपाईलाई थाहा थियो ? उनले सामान्य मान्दै जवाफ दिए- त्यो ५० ग्राम सुनको बाला थियो। त्यो खासमा काँचो सुन हो। काँचो सुनलाई बेरेर बनाएको मात्र हो।

‘तपाईहरु त्यो तोलाको कति दरले लिनुहुन्छ ?’

‘बजारकाे दरभन्दा पाँच सय रुपैयाँ कम।’

न्युरोडको एक सुन पसलका ती मालिकले यस्ता ग्राहकको बेलिविस्तार लगाए केहीबेरमै। उनलाई किन पनि सहज थियो भने साथीले सुन किन्ने भनेपछि उनी र म त्यस पसलमा छिरेका थियौं।

त्रिभुवन विमानस्थलबाहिर निस्कन नपाउँदै हरेक दिन विदेशबाट आएका कोही न कोही  समातिन्छन् केवल १०/२० ग्राम काँचो सुन ल्याएको आराेपमा। ती प्राय खाडीमा वर्षाै पसिना बगाएर फर्किएका नेपाली हुन्छन्। तर सोही विमानस्थलबाट हरेक दिन सजिलै ५० ग्राम परिमाणका दर्जनौं त्यस्ता सुनका बालाहरु नेपाल भित्रन्छन्। ती बाला काँचो सुनलाई सामान्य बेरेर बनाइएका हुन्छन् र कानुनको नजरमा गहना बनिदिन्छन्।

नेपालको कानुनले भन्छ, ‘विदेशबाट आउँदा बढीमा ५० ग्रामसम्मको सुनको गहना ल्याउन/लगाउन पाइन्छ तर एक ग्राम पनि काँचो सुन ल्याउन पाइदैन।’  कानुनको यही परिभाषा नजानेका र नबुझेका सोझा नेपालीहरु हरेक दिन विमानस्थलमा समातिन्छन्। त्यसपछि सुन मात्र गुमाउँदैनन्, त्यस बराबरको जरिवाना पनि तिरेर मात्र बाहिर निस्कन पाउँछन्।

यसको मतलब विमानस्थलमा यस्ता साना परिमाणको  सुनसहित समातिएका सबै निर्दाेष हुन्छन् भन्ने होइन। यसरी ल्याइएका सुनका गहनाहरु विमानस्थलबाहिर संकलन भइरहँदा समातिएका घटना नभएका हाेइनन्। तर सरकारले कानुनबारे बुझाउन नसक्दा खाडीबाट मात्र होइन विश्वका अन्य क्षेत्रबाट नेपाल अाउने नेपाली तथा विदेशी दैनिक पक्राउ पर्छन्।

त्रिभुवन विमानस्थलका भन्सार प्रमुख नारायण सापकोटा आफुहरुले कानुनको कार्यान्वयन मात्र गरेको हुँदा तस्कर र गैह्र तस्करलाई छुट्याउन गाह्रो हुने बताउँछन्। भन्छन्, ‘कानुनले तोकेभन्दा बढी ल्याएपछि तस्कर र गैह्रतस्कर जो भएपनि समान ब्यवहार हुन्छ, उनीहरुलाई कारबाही गर्नुको विकल्प हुँदैन।’

चालु आर्थिक वर्षमात्र त्रिभुवन विमानस्थल भन्सारले  साढे २४ केजी सुन बरामद गरेको छ। सुनसँगै दुई सय ५५ जना समातिएका छन्। तीमध्ये ७० देखि ८० प्रतिशत मान्छे खाडीबाट आएकाहरु हुने गरेको भन्सार अधिकृत बताउँछन्। बरामद हुने सुनमा काँचो सुनको मात्रा पनि लगभग त्यति नै रहने उनीहरुको दाबी छ।

बयानमा धेरैको एउटा साझा भनाइ हुन्छ- हामीलाई काँचो सुन ल्याउन पाइँदैन भन्ने थाहा थिएन।

गत अार्थिक वर्षमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले करिब २७ केजी सुन र २ सय १९ जना मानिस पक्राउ गरेको थियो। अर्थात विमानस्थलमा भन्सारले पक्राउ गर्ने सुन र मान्छेको संख्या दिनानुदिन बढ्दो छ। सहसचिव सापकोटा यस तथ्यांकले  कानुनको कार्यान्वयन पक्ष बलियो बनिरहेको देखाएको दाबी गर्छन्।

काँचो सुन र गहनाबीच कानुनी परिभाषाबारे बुझ्न र बुझउन नसक्दा भने निर्दोष फसिरहेकोप्रति सरकारी निकायको वेवास्ता देखिन्छ। २०७३ सालको असारसम्म ५० ग्रामसम्म काँचो सुन नै ल्याउन पाइने प्रावधान रहेको भएपनि त्यसपछि नियम परिवर्तन भएको हो।  ‘पहिलो त मानिस आफैँ सचेत हुनुपर्छ। कुनै देश जाँदा त्यस देशको नियम कस्तो छ, के के र कति लैजान वा बाेक्न पाइन्छ भन्नेबारे बुझ्नुपर्छ। दोस्रो कुरा, वैदेशिक रोजगारमा संलग्न हुने निकाय, विभिन्न देशमा रहने राजदुतावास, एयरलाइन्स लगायत सरोकारवाला निकायले पनि पछिल्ला नियमहरुबारे समयमै सचेत गराउनुपर्छ’, सापकोटा भन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?