सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदबाट विस्वासको मत प्राप्त गरेका छन्। नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले मंगलबार बसेको प्रदेशसभा बैठकबाट दुई तिहाई मत प्राप्त गरेका हुन्।
सभामुख बाहेक ३९ जना सांसद भएको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले ३२ मत प्राप्त गरेका छन्। उक्त मत प्रदेशसभाको दुई तिहाई बहुमत हो। संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आफ्नो पक्षमा स्पष्ट दुईतिहाइ बहुमत भन्दा बढी मत प्राप्त गरेका छन्।
संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्री शाहीविरुद्ध आगमी दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्ने छैन। उनी फागुन तीन गते मख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको १२ दिन पछि उनलाई संसदले विश्वास गरेको हो।
कांग्रेस र राप्रपाद्वारा विपक्षमा मतदान
प्रदेशसभामा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस र राप्रपाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका छन्। मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि पेश गरेको प्रस्तावमा दुवै पार्टीका सांसदहरुले विपक्षमा मतदान गरे।
कर्णाली प्रदेशमा प्रमुख दुई दल एमाले र माओवादी मिलेर सरकार बनाएपछि नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टी भने प्रतिपक्षमा बसेका छन् । संसदमा कांग्रेसका ६ र राप्रपाको एक मत छ भने एमालेका २० र माओवादी केन्द्रको १३ मत छन्।
मूख्यमन्त्री शाहीले बिश्वासको मत मागेपछि उक्त प्रस्तावमाथिको छलफलमा सहभागि हुँदै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति, योजना र कामका आधारमा सरकारलाई सहयोग गर्ने भएपनि कांग्रेसले प्रतिपक्षीमा मतदान गर्ने बताएका थिए।
सरकारलाई मनपरी गर्न नदिन कांग्रेसले प्रतिपक्षको भूमिकाबाट सधै खबरदारी गर्ने उनले बताए। राष्टिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाहीले आफ्नो पार्टीले पनि प्रतिपक्षमा बसेर सरकारका राम्रो काममा सहयोग र गलत काममा खबरदारी गर्ने बताईन।

भर्खरै
लोकप्रिय






































































































































































































