वीरेन्द्रनगर-सुर्खेतमा आयोजना गर्न लागिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७४ सञ्चालन गर्नका लागि आर्थिक अभाव भएको छ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतले आयोजना गर्न लागेको १० औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनका लागि रकम अभाव भएको जानकारी दिएको हो।
प्रतियोगिता सञ्चालन गर्नका लागि २० लाख खर्च लाग्ने समितिका अध्यक्ष चन्द्रकुमार गिरीले बताए।‘अघिल्लो बर्ष राष्ट्रिय खेलकुद परिषद्ले पाँच लाख बजेट पठाएको थियो’ अध्यक्ष गिरीले भने, ‘तर प्रतियोगिता सम्पन्न गर्न कम्तिमा पनि २० लाख बजेट चाहिन्छ।’ गिरीले २० लाख बजेट विनियोजन गर्न केन्द्रलाई प्रस्ताव पठाइसकिएको बताए।
‘जिल्लास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि मात्रै १४ लाख ९७ हजार ४ सय रूपैयाँ खर्च लाग्छ।’ अध्यक्ष गिरीले भने,‘त्यसभन्दा अघि निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता गर्नुपर्नेछ, त्यसका लागि मात्रै पाँच लाख ७७ हजार आठ सय बजेट प्रस्ताव गरेका छौं।’
केन्द्रबाट प्रस्ताव गरिएअनुसार बजेट प्राप्त नभएमा प्रतियोगिता सञ्चालन गर्न रकम अभाव हुनेछ।‘अघिल्लो बर्ष पाँच लाख मात्रै बजेट दिइयो’ उनले भने, ‘नपुग बजेट जिल्ला समन्वय समिति, नगरपालिका, गाविस लगायतसंग मागेर चलाइयो।’
जिल्ला खेलकुदले जिल्लास्तरिय र निर्वाचन क्षेत्र स्तरिय गरी २ वटा प्रतियोगिता सञ्चालन गर्दैछ। आगामी चैत २७ देखि २९ गतेसम्म जनता माध्यामिक विद्यालय रानीवासमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिता व्यवस्थापन र निर्देशन समितिले नपुग रकम जुटाउन छलफल गरेको भएपनि स्थानीय निकायसंग अहिलेको अवस्थामा पैसा अभाव भएको निश्कर्ष निकालेको छ। ‘सवै निकायसंग आग्रह गर्ने नै हो’ जिल्ला समन्व्य समितिका संयोजक छविलाल सिग्देलले भने, ‘हामी सबैको ईज्जतसंग जोडिएकाले आर्थिक अभाव हुन नदिन पहल गर्नेछौं।’
समितिका सदस्यसमेत रहेका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले प्रतियोगिताका लागि सवै पक्षसंग सहयोग माग्नुको विकल्प नभएको बताए। प्रतियोगिताको लागि अन्य तयारी पुरा भएको भएपनि आर्थिक संकट देखिने समितिले जनाएको छ।
जिल्लाका ७० विद्यालयहरूको सहभागिता हुने अनुमान गरिएको प्रतियोगितामा १ हजार २ सय ५० खेलाडीले ६ वटा खेलमा प्रतिस्प्रधा गर्ने छन्। खेलाडीहरूले भलिवल, कवड्डी, एथलेटिक्स, कराँते, उसुलगायत ६ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

भर्खरै
लोकप्रिय






































































































































































































