
विर्तामोड- झापा विर्तामोडका सन्तोष शाहले यसपालि करिब ६० हजार रुपैयाँ बराबरको होलीमा खेलिने साम्रागी भारतको सिलिगुडीबाट लिएर आए। नेपालमा अविरबाहेक अन्य सामाग्री उत्पादन नहुने भएकाले उनले भारतबाट सामान आयात गरेका हुन्।
शाहले सिलिगुडीबाट पिचकरी, नक्कली कपाल तथा रंग लिएर आएका हुन्। विहीबार उनले सडकको पेटीमा सामान बेच्न राखेका थिए। उनले भने, ‘करिब चार दिन भयो मैले सामान बेच्न राखेको। तर गत सालको जस्तो बिक्री भएको छैन यसपाली।’
उनले अहिलेसम्म खरिद गरेको पैसा पनि उठ्न नसकेको बताए। त्यस्तै अर्का व्यापारी सन्जय शाहले पनि १८ हजार मूल्य बराबरको सामान सिलिगुडीबाटै लिएर आए। उनले पनि करिब १२ हजार रुपैयाँ बराबरको सामान मात्र बिक्री भएको गुनासो गरे।
उनले भने, ‘मेरो मात्र होइन, सीमा क्षेत्रमा रहने सबै व्यापारीको अवस्था उस्तै छ। सबै मान्छे किनमेल गर्न भारतको सीमावर्ती पानीटेंकी जान्छन्।’
व्यापारीहरु भन्छन्, ‘भन्सार तिरेर सामान ल्याउँदा नेपालमा केही महंगो हुने भएकाले नेपालका सीमा क्षेत्रमा बसोबास गर्नेहरु रंग किन्न पनि भारतकै सीमा बजारहरुमा गएका हुन्।’
सन्जय शाहले भने, ‘जुनसुकै पर्वमा पनि भारतकै बजार जाने प्रचलनले नेपाली बजारको हालत बिग्रँदै गएको छ।’