
विर्तामोड- सरकारले झापामा होली पर्वको विदा हिजो दिए पनि तराईका सर्वसाधारणले होली आज मनाएका छन्।
झापामा मधेशी समुदाय र पहाडी समुदायका मानिसहरुले एकैथलोमा होली मनाइरहेका छन्। उनीहरुले होली पर्वबाट आफूहरुले रंगसँगै आपसी सद्भाव, भाइचारा र बन्धुत्व भावना बृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त गरेको बताएका छन् ।
आज विहान वीरता जेसीज र वीरता लेडी जेसीजले फागु पूर्णिमा पर्वको अवसर पारी बिर्तामोडको अतिथि सदनमा होली मिलन समारोह आयोजना गरेका थिए ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि नेपाल चलचित्र संघका पूर्व केन्द्रीय अध्यक्ष तथा वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल थिए ।
आज विहानैदेखि होली मनाउनका लागि सर्वसाधारण हातमा रंग लिएर सडकमा निस्किएका छन्। तर होली मनाउने क्रममा सवारी दुर्घटना नहोस् भनेर सजगता साथ आफूहरु काममा खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक कालिदास रेग्मीले बताए।