
विर्तामोड– रेजिन सुब्बाको एकमात्र गोलको मद्दतले नेपाल पुलिस क्लबले तेस्रो रमपम झापा गोल्डकपको क्वाटर फाइनलको यात्रा तय गरेको छ।
खेलको एकमात्र निर्णायक गोलका लागि पुलिसले ८१ मिनेट पर्खनुपरेको थियो। ८१ औं मिनेटमा सुमन लामाको पासलाई सदुपयोग गर्दै सुब्बाले बललाई पोस्टको दिशा दिएका थिए। रुपन्देही ११ का गोलकिपर सोजित गुरुङ बिट भइसकेको अवस्थामा डि एरियाभित्र रहेका सुब्बाले गोल गरेका थिए।
खेलको १८ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार पोष्ट बारमा लागेर फर्किएको थियो । २५ औं मिनेटमा पुलिसकै रेजिन सुब्बाले गोलकिपर बिट भइसकेपछि गरेको प्रहार रुपन्देहीका डिफेन्डर गौरब बुढाथोकीले गोललाइनबाट बचाएका थिए।
५३ औं मिनेटमा रुपन्देहीका निशान लिम्बुले गोल गर्न सकेनन्। उनले गोलकिपरमात्र भएको समयमा फितलो प्रहार गरेका थिए। ७२ औं मिनेटमा पुलीसका रवि पासवानको कडा प्रहार रुपन्देहीका गोलकिपर सोजित गुरुङले पञ्च गरेका बाहिर फ्याँकेका थिए।
खेलको म्यान अफ द म्याच नेपाल पुलिस क्लबका सुमन लामा घोषित भए। उनले नगर २५ हजार रुपैंया पुरस्कार पाए। सोमबारको खेल शसस्त्र प्रहरीको एपीएफ क्लब र थ्री स्टार क्लब बीच हुने आयोजक समितिले जनाएको छ।