वीरेन्द्रनगर- हरेक प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको रणनीति अनुसार कर्णाली प्रदेशको औद्योगिक क्षेत्रका लागि सम्भाव्यता थालिएको छ।
कर्णाली प्रदेशस्तरीय औद्योगिक क्षेत्रका लागि सुर्खेतमा औद्योगिक क्षेत्र स्थापनाबारे सम्भाव्यता अध्ययन सुरु गरिएको हो।
प्रदेशस्तरीय औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययनका सुर्खेत आइपुगेको प्राविधिक सहितको टोलीले लेकवेशी नगरपालिकाको साटाखानीमा स्थलगत अवलोकन गरेको छ।
औद्योगिक क्षेत्रका लागि यसअघि नै स्थानीय रानीचौतारी र खाँडदेवी सामुदायिक वनले जग्गा दिने निर्णय गरिसकेका छन्। सामुदायिक वनको सोही जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम थालिएको हो।
प्राविधिक टोलीले उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त छ वा छैन भन्ने विषयमा अध्ययन गर्नेछ। सम्भाव्यता अध्ययनको प्रतिवेदनपछि मात्र यसको डीपीआरको प्रक्रिया थालिनेछ।
सामुदायीक वनहरूले औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने एक हजार विगाह जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए। औद्योगिक क्षेत्रका लागि पश्चिममा झुप्रा खोला, उत्तरमा भेडावारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाको बीचमा रहेको जग्गा प्रस्ताव गरिएको छ।
यही क्षेत्रमा प्राविधिक टोलीले जग्गाको नाप नक्सा, भौगोलिक संकेत, वातावरणिय क्षेती र भौर्गभिक अध्ययन पनि गर्ने भएको हो। सम्भाव्यता अध्ययनका लागि ग्रिन राजदेवी कन्सटलटेन्सी काठमाण्डौले जिम्मा पाएको छ । यही कम्पनीले स्थलगत अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउनेछ।

भर्खरै
लोकप्रिय






































































































































































































