
पोखरा- अन्तराष्ट्रिय महिला दिवस ८ मार्चको सन्दर्भमा मानव मिलन नारी जागरणले कास्की कारागारमा रहेका महिलाहरुकोलागि पाठेघरको क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सँगै भि आइ ए टेष्ट र प्याप टेष्ट गराएको छ।
विश्वभरी भब्य रुपमा महिला दिवस मनाइरहँदा विभिन्न कसुरमा जेल सँजाय भुक्तान गरीरहेका महिलाको स्वास्थ्य अधिकारलाई प्राथमिकतमा राखेर ५८ जना महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि भिआइए परिक्षण गराईएको हो।
सचेतना कार्यक्रममा प्रदेश नं ४ का उपसभामुख सृजना शर्माले महिलाहरु आफ्नो भन्दा अरुको स्वास्थ्यमा बढि ध्यान दिने र आफु रोग लुकाएर बस्ने परिपाटिले विभिन्न रोगको शिकार हुनु परेको बताइन्।
हरेक नागरिकको स्वस्थ रुपमा बाँच्ने अधिकार रहेको भन्दै बन्दि गृहका महिलाकोलागि गरिएको भिआए र प्याप टेष्टले महिला लाभान्वित हुने बताइन्। महिलाको प्रजनन स्वास्थ्य महत्वपूर्ण भएकाले आफ्नो स्वास्थ्य सम्बन्धि विषयमा लाज नमानी परिक्षण गराउन समेत आग्रह गरीन्।
जिल्ला कारागार कास्कीका जनस्वास्थ्य निरिक्षक विश्व सुवेदीले बन्दिगृह भित्र विभिन्न स्वास्थ्य समस्या भएका महिलाहरु भएको तर महिला स्वास्थ्यकर्मीको अभावले उनीहरुले आफ्नो समस्या सुनाउन नसकेको बताए। स्वास्थ्य संवेदनशिल क्षेत्र भएकोले यसमा राज्यले महिला मैत्री वातावरण बनाएर बन्दि गृहका महिलाको स्वास्थ्य अधिकारमा ध्यान दिनु पर्ने बताए।
कास्की जिल्ला कारागारका महिलाकोलागि पहिलो पल्ट भिआइ टेष्ट र प्याप टेष्ट भएको बताए। जिल्ला कारागार कास्कीका प्रमुख हरि प्रसाद गौतमले सिमित स्रोत साधनबाट बन्दिको ब्यवस्थापन गर्न कठिनाई भइरहेको बताए।
२० जना मात्रैको क्षमता भएको महिला बन्दि गृहमा अहिले ५९ जना महिला बन्दि रहेको भन्दै राज्य स्तरबाटै यसको पुर्वाधार विकासमा जोड दिने र विभिन्न सचेतनामुलक कार्यक्रमको खाँचो रहेको औल्याए।
कार्यक्रमा मानव मिलनका नारी जागरणका अध्यक्ष सविता बरालले राज्यबाट समेत महिला बन्दिलाई उपेक्षा गरिएको बताइन्। महिलाको स्वास्थ्य समस्याको बारेमा पुरुष डाक्टरसँग भन्दा महिला डाक्टरसँग सहज हुने भन्दै आफूले पोखरा केयरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरेको बताइन्।
बन्दी गृहका ५८ जना बन्दि गृहको भिआइ टेष्ट गरीएको थियो भने २६ जनाको प्याप टेष्टकोलागि पठाइएको संस्थाका सचिव मेनुका पोखरेलले जानकारी दिइन्।