
विर्तामोड- आयोजक टोली रमपम झापा ११ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
विर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब काठमाडौंलाई टाई ब्रेकरमा हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो।
खेलको शुरुवातदेखि नै झापा आक्रामक बनेको थियो। तर खेल अविधभर झापाले कुनै गोल गर्न सकेन। पहिलो र दोस्रो हाफ गोलरहित बराबरीमा टुंगियो। टाई ब्रेकरमा ४-३ गोल अन्तरले झापाले थ्री स्टारलाई पराजित गरेको हो।
शुक्रबारको खेलको म्यान अफ द म्याच झापाका देवेन्द्र तामाङ घोषित भए। उनले नगद २५ हजार पुरस्कार पाए। शनिवारको अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी र मनाङ मर्स्याङदी क्लबबीच हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले नगद ६ लाख पाउनेछ।