
काठमाडौँ- सामाखुसीस्थित ग्रिन सिटी हस्पिटलको चौथो तला। वरिपरि मृगौला रोगीहरु डायलसिस गरिरहेका छन्। बाहिर विरामी कुरुवाको उपस्थिति निकै कम छ। भएका पनि मोबाइलमा ब्यस्त छन्। वातावरण निकै शान्त छ। कुनामा एउटा बन्द एक बेडको क्याबिनको ढोकामा लेखिएको छ, ‘कृपया डाक्टर र नर्सबाहेकलाई भित्र प्रवेश गर्न अनुमति छैन।’
अन्य ढोकामा यस्तो नलेखिएकाले त्यहाँ ‘विशेष बिरामी’को उपचार भइरहेको छ भन्ने अनुमान लगाउन गाह्रो छैन। नर्सले ढकढक गरेपछि ढोकाबाहिर एक महिला निस्किएर हामीलाई केहीबेर पर्खन भन्दै भित्र छिरिन्।
दुई मिनेटपछि बाहिर निस्कँदै क्यान्टिननमा जान अनुरोध गरिन्।
‘बच्चीले केटा मान्छेको अनुहार देख्नै हुँदैन,’ सिँढीबाट ओर्लँदै गर्दा रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले सुनाइन्। अनि बच्चीका आफन्त? ‘कोही छैनन्,’ मेनुकाको यो जवाफले मन भारी हुनु अस्वभाविक थिएन।
पर्साको पटरवा गाउँपालिकामा तीन जना व्यक्तिद्वारा सामूहिक बलात्कारमा परेकी आठ वर्षिया बालिकाको त्यहाँ उपचार भइरहेको थियो। लालबच्चा मुखिया गम्भीर घाइते छोरीलाई अस्पताल छाडेर घर फर्किएको पनि तीन दिन भइसकेको छ।
आमा छैटौं सन्तानको प्रतीक्षामा ‘साँझ बिहान’ छिन्। बच्चीका अन्य चार दिदी बहिनी, आमा र हजुरआमाको मुखमा माड पर्दैन, लालबच्चा मुखियाले दैनिक काम नगरे!
‘तपाईँहरु भएपछि अब मेरी छोरी बाँच्छे। बुढी साँझ बिहान छ। मैले काम नगरे, परिवारको पेट भरिँदैन’ भनेर गहभरि आँशु पार्दै तीन दिनअघि बच्चा मुखिया घर फर्किसकेका छन्।
पीडित बालिकालाई शुक्रबार बिहानसम्म पाइपबाटै खाना खुवाइएको थियो। अब पाइप प्रयोग गर्नुपर्दैन।
तर, दिशा र पिसाब भने पाइपबाटै गराउनुपर्छ। बालिका अलिअलि बोल्छिन्। तर मैथिली बोल्ने भएकाले रक्षा नेपालबाट खटिएका कुरुवाहरु अलि अलिमात्र बुझ्छन्।

गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार लेखेको नोट।
‘म बुवासँग जान्छु’, बच्चीले लटपटिएको स्वरमा भनेको यो कुरा कुरुवाले बुझेका छन्। तर उनीहरुसँग कुनै जवाफ छैन। शुक्रबार बिहान ‘माइले पकाको रोटी खान मन छ’ भनेपछि रक्षा नेपालका कर्मचारीले घरमै रोटी र साग बनाएर ल्याएर खुवाएका छन्।
बच्चीको योनीको बाहिरपट्टि १५ टाँका र भित्रपट्टि सात टाँका लगाइएको छ। बलात्कारपछि पिसाब फेर्ने र दिसा गर्ने बाटो एउटै भएको थियो। चिकित्सकका अनुसार बच्चा निको भए पनि भविष्यमा बलात्कारको शारीरिक असर पर्ने सम्भावना छ। रक्षा नेपालकी थापाका अनुसार चिकित्सकले बच्चा भविष्यमा गर्भवती हुन नसक्ने वा उनको दिशापिसाव नियमितरुपमा चुहिरहन सक्ने बताएका छन्।
आफ्नो सम्पि नभएपछि लालबच्चा मुखिया ससुरालीमा बस्दै आएका थिए। उनी ठेकेदारले चलाएको नजिकैको माछापोखरीबाट माछा झिकेर बजारमा लगेर बेच्दै परिवारको गुजारा चलाउँदै आएका थिए।
सुरुका दुई छोरी भएपछि उनी बन्ध्याकरण गर्न चाहन्थे तर सासुले नाति चाहिन्छ भनेपछि पाँच छोरी जन्मिसकेका छन्। छैटौं सन्तानका रुपमा उनीहरु छोरा हुने आश गर्दैछन्।
तर, गत फागुन १६ गते उनीहरुको जीवनमा नसोचेको दुर्घटना आइपर्यो।

गृहमन्त्री रामबहादुर थापा पीडित बालिकालाई भेटेपछि नोट लख्दै।
लालबच्चा बजारतिर गएका थिए। बजारबाट फर्कदा घरमा साँहिली छोरी (पीडित) नदेखेपछि उनले खोजी गरे।
श्रीमतीले घाँस लिन गएकी छोरी एक घन्टा बित्दा पनि नआएको बताइन्। पाँच मिनेटको बाटोमा त्यत्रो समय लगाएपछि उनी घाँस काट्ने ठाउँ नजिकैको उखुबारी पुगे। उखुबारीको बीचमा नाला र नालाभन्दा पारी माछापोखरी थियो। लालबच्चाले छोरीलाई अचेत अवस्थामा नालामा भेटे। रक्ताम्य भएका कारण छोरी बलात्कृत भएको छुट्याउन उनलाई गाह्रो भएन।
नारायणी अस्पतालमा फागुन १७ गते बच्चीको होस आउँदा लालबच्चा मुखिया छक्क परे। बच्चीले आफूलाई तीन जनाले बलात्कार गरेको र एक जनाको नाम समेत बताइन्। बलात्कार गर्ने अरु कोही नभएर बच्चा मुखियासँगै माछापोखरीमा काम गर्ने उनका साथी थिए। उखुबारीमा घाँस काट्न गएका पीडित युवतीसहित अर्की बालिकालाई माछाको खाजा दिने प्रलोभन देखाएर नजिकै बोलाएर बलात्कार गरिएको थियो। अर्की बच्ची भने उम्किन सफल भएकी रहिछन्।
ग्रिन सिटी अस्पतालले पीडित बच्चीको सम्पूर्ण उपचार खर्च निशुल्क गरेको छ। रक्षा नेपालले बच्चीको पुनर्स्थापनाको जिम्मा लिएको छ। परिवारलाई आर्थिक सहयोग होस् भनेर खोलिएको बैंक खातामा पनि एक लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ। गृहमन्त्री रामबहादुर थापाले शुक्रबार पीडित बालिकालाई भेट्नेक्रममा पीडकलाई कडाभन्दा कडा सजाय हुने बताएका छन्।
तर, पर्साको एक गरिब परिवारलाई अन्य सदस्यमाथि पनि यस्तै विपत आइपर्ने त होइन भन्ने चिन्ता पनि उत्तिकै छ। यता अस्पतालमा छटपटाइरहेकी बच्ची पुरुष देख्नेबित्तिकै दुई हातले मुख छोप्दै मैथिली भाषामा चिच्याइरहेकी छिन्। थापाका अनुसार पीडित बच्चीका लागि बाबुबाहेक पुरुष ‘भुत’जस्तै देखिने गरेको छ।

पीडित बालिकाकी गर्भवती आमा। उनको स्याहार गर्न बुबा गाउँ जानुपरेकाले पीडित बालिकालाई अस्पतालमा कुर्ने कोही आफन्त पनि छैनन्। तस्बिरहरु: मेनुका थापा