
विर्तामोड- करार सेवामा रहेका सरकारी कार्यालयका हलुका सवारी साधन चलाउने चालकहरुले आफूहरुलाई स्थायी नगरिए सरकारी सवारी साधन नचलाउने चेतावनी दिएका छन्। शनिवार विर्तामोडमा पत्रकार सम्मेलन गरी उनीहरुले सरकारले भेदभावको व्यवहार गरेको बताए।
स्थायी सेवामा रहेका चालकहरुले कार्यालय अवधिको समयमा काम गर्ने गरेको तर आफूहरुले दैनिक १५ घन्टासम्म काम गर्नुपर्ने गुनासो गरे। विगत १२ बर्षदेखि सरकारी सवारी साधन चलाउदै आएका जिल्ला समन्वय समिति झापाका चालक गणेश नेपालले सरकारले वीमा लगायतका सुविधाबाट करार सेवामा रहेका चालकहरुलाई बन्चित गराएको बताए। उनले भने, ‘हामी ७० जना भन्दा बढी चालक सरकारको भेदभावको शिकार भएका छौं ।’
उनीहरुले सार्वजनिक विदाका दिन पनि काम गर्नु परिरहेको बताए। तर त्यस वापत उनीहरुले अतिरिक्त सुविधा पाउँदैनन्। नेपालले भने, ‘हामीलाई मासिक १८ हजार ६ सय ३० रुपैयाँ दिइएको छ। अन्य सुविधा केही पनि छैन । हामीलाई स्थायी गरियोस् । नत्र हामी काम ठप्प पार्न बाध्य हुनेछौं ।’