
विर्तामोड- रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमी फाइनल खेलमा मनाङलाई १- ० गोल अन्तरले हराउँदै फाइनलमा आर्मीले आयोजक टोली झापा ११ संगको भेटलाई पक्का गरेको छ।
शनिबार विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा आर्मीले मनाङलाई पराजित गरेको हो। यसअघि प्रतियोगिताको पहिलो संस्करणमा झापा र आर्मीको भेट भएको थियो। त्यसबेला आर्मीले उपाधि हात पारेको थियो। आयोजक झापा लगातार तेस्रो पटक फाइनल पुगेको हो।
खेलको शुरुवातमै आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले गोल गरे। उनले विकास तामाङको पासमा गोल गरेका हुन्। त्यसपछि मनाङ दबाबमा रह्यो। मनाङका खेलाडीको बारम्बारको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल तुल्याइदिएका थिए। दोस्रो हाफमा मनाङले आक्रामक रणनीति लिए पनि मनाङका खेलाडीले गोल गर्न सकेनन्।
शनिवारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर विकेश कुथु घोषित भए। उनले नगद २५ हजार पुरस्कार पाए। प्रतियोगिताको अन्तिम खेल आगामी सोमबार हुनेछ। प्रतियोगिताका विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख नगद पुरस्कार पाउनेछन्।
सम्बन्धित समाचार