
विर्तामोड- झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आफ्नो टिमले जित्ने आर्मी र आयोजक झापाका कप्तान र कोचले दाबी गरेका छन्।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको प्रिम्याच कन्फरेन्समा उनीहरुले आफ्ना खेलाडि उपाधि जित्ने पूर्ण सक्षम रहेको दाबी गरेका छन्।
त्रिभुवन आर्मी क्लबका कोच चुनबहादुर थापाले जित्नका लागि खेल मैदानमा आफ्नो टोली उत्रने बताए। अहिलेसम्म धेरै गोल्डकप फुटबल प्रतियोगिताहरु आफ्नो टोलीले जितेको प्रसंग निकाल्दै आर्मीका कोच थापाले भने, ‘हामीले अहिलेसम्म वीरगन्ज, काँकरभिट्टा, सीमरा, हेटौडा लगायत गोल्डकप प्रतियोगिता जितेका छौं यो सिजनमा। त्यसैले जित हाम्रै हुनेछ।’
आर्मीका कप्तान भरत खवासले झापासंगको प्रतिस्पर्धा त्यति सहज नभएको बताए। उनले झापाका खेलाडीका लागि घरेलु मैदानमा खेल्न सहज हुने बताए। खवासले झापाका दर्शकहरुले खेलाडिको मनोबल उच्च राखेकोमा धन्यवाद समेत दिए।उनले भने, ‘हामीले धेरै स्थानहरुमा प्रतियोगितामा भाग लियौं। तर झापाका दर्शक अत्यन्तै संयमित र अनुशासित पायौं।’
फाइनलका लागि थ्रीस्टारका पराजय चखाएर उत्रन लागेको घरेलु टोली झापा ११ पनि पूर्ण तयारीका साथ मैदानमा उत्रने कोच प्रवेश कट्वालले बताए। उनले विगतको भन्दा झापाको प्रदर्शन राम्रो हुने दाबी गरे।
उनले भने, ‘आर्मी टिममा खेल्छ भने हामी पनि टेक्निकल गेम खेल्छौं।’ झापाका खेलाडिका लागि अनुबन्धन गर्न शुरु गरिएका कारण पनि खेलाडीलाई प्रोत्साहन मिलेको कप्तान योगेश गुरुङले बताए। तर यो सिजनमा कुनै पनि उपाधि हाँसिल नगरेको झापालाई घरेलु मैदानको प्रतियोगिता जित्नैपर्ने दबाब रहेको उनले बताए।
गोल्डकप प्रतियोगिताको फाइनल खेलसम्म आइपुग्दा दर्शकहरुबाट २४ लाख रुपैयाँ संकलन भइसकेको मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए। उनले फाइनलमा ८ हजार दर्शकको अपेक्षा रहेको पनि बताए।
सम्बन्धित समाचार