
विर्तामोड- तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ। विर्तामोडको डोमालाल राजवंशीमा सोमबार भएको अन्तिम खेलमा रमपम झापा ११ लाई सडन डेथमा आर्मीले हराएको हो। आर्मीले उक्त गोल्डकपको उपाधि जितेको यो दोस्रो पटक हो। प्रथम संस्करण पनि आर्मीले नै हात पारेको थियो।
उपाधिसँगै आर्मीले नगद १२ लाख ५१ हजार हात पारेको छ। झापाले ६ लाख नगदमा चित्त बुझाउनु पर्यो।
निर्धारित समयमा खेल १-१ को बराबरीमा टुंगिएपछि १५ मिनेटको अतिरिक्त समयमा खेल खेलाइएको थियो। अतिरिक्त समयमा पनि कुनै गोल हुन सकेन। त्यसपछि अन्तिम निर्णयका लागि टाइ ब्रेकरको सहारा लिनु परेको थियो। टाइ ब्रेकरमा पनि खेल बराबरी रह्यो। त्यसपछि सडन डेथमा आर्मीले गोल गर्दै उपाधि हात पारेको हो। यो सिजनमा आर्मीको यो छैटौं जित हो।
प्रतियोगिताको ‘द मोस्ट भ्यालुएबल प्लेयर’ झापाका कप्तान योगेश गुरुङ घोषित भए। उनले यामाहा मोटरसाइकल प्राप्त गरे। उत्कृष्ट गोल किपर आर्मीका विकेश कुथु घोषित भए। डिफेन्डर झापा देवेन्द्र तामाङ, मिडफिल्डर आर्मीका सन्तोष तामाङ भए। उनीहरुले जनही ३१ हजार नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा सर्वाधिक गोल गर्ने झापा कर्ण लिम्बुले नगद ५१ हजार प्राप्त गरे। पोखराको सहारा क्लब ‘फेयर प्ले’ टिम घोषित भयो। उसले पनि नगद ३१ हजार प्राप्त गर्यो। फाइनल खेलको म्यान अफ द म्याच झापा विश्वास श्रेष्ठ घोषित भए। उनले पनि ओली एन्ड एसोसिएट्सले प्रदान गरेको नगद २५ हजार प्राप्त गरे। वेस्ट कोचको उपाधि आर्मीका कोच चुनबहादुर थापाले पाए। उनले पनि ३१ हजार नगद पुरस्कार प्राप्त गरे।