
वीरेन्द्रनगर-पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुको संख्या बढेको छ। सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराएवापत प्रोत्साहन भत्ता दिन थालेपछि सुर्खेतका महिलाहरु सुरक्षित सुत्केरी सेवा लिने गरेका हुन्।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार गर्भवति महिलाहरुमध्ये करिव ७० प्रतिशतले सुरक्षित सुत्केरी सेवा लिने गरेका छन्। विगतमा घरमै सुत्केरी हुने महिलाहरु पछिल्लो समय स्वास्थ्य संस्थाबाट सुरक्षित सेवा लिन थालेका हुन्।
कार्यालयको तथ्यांअनुसार आर्थिक वर्ष २०७१/०७२ मा गर्भवति भएका ६ हजार ८ सय १४ जना मध्ये पाँच हजार चार सय ४१ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुती सेवा लिएका छन्।
यस्तै, एक हजार तीन सय २० जना घरमै सुत्केरी भएका छन्। आव ०७२/०७३ मा पाँच हजार ४ सय ८५ जनाले सुरक्षित रुपमा सुत्केरी सेवा लिएका छन् भने एक हजार तीन सय २० जनाले घरमै सुत्केरी भएका छन्।
२०७३/०७४ मा सात हजार एक सय दुई जना गर्भवति महिला मध्ये एक हजार एक सय ७५ जनाले घरमै सुत्केरी भएका छन्। यस्तै, पाँच हजार ९ सय २७ जनाले सुरक्षित सुत्केरी सेवा लिएका छन्।
यहाँका ३० प्रतिशत महिलाले घरमै सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ। स्वास्थ्य संस्थामा बच्चा जन्माए बापत एक हजार राहतस्वरूप सहयोग दिने व्यवस्था छ। तर, अन्धविश्वास र भौगोलिक विकटताले निःशुल्क सुत्केरीसहित प्रोत्साहन भत्ता दिए पनि सतप्रतिशत महिलाले स्वास्थ्य संस्था गएर सुत्केरी गराउने गरेका छैनन्।
नियमित जाँच र सुरक्षित सुत्केरी सेवा लिनेको संख्या बढेसँगै महिलाहरु पनि सुरक्षित हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी बसन्तमान श्रेष्ठले बताए।घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यानै जाने खतराबाट सुर्खेतका महिलाहरु जोगिएको उनले बताए। भौतिक विकटताका कारण सतप्रतिशत गर्भवति स्वास्थ्य संस्थाको नियमित पहुँचमा छैनन्।
आमाहरुलाई ३८ लाख वितरण
चालु आर्थिक वर्षको ६ महिनामा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई ३८ लाख रुपैयाँ वितरण गरिएको छ। नौ वटा स्थानीय तह रहेको सुर्खेतमा स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच र सुत्केरी गराउनेलाई प्रोत्साहन भत्तावापत ३८ लाख ४१ हजार रुपैयाँ वितरण गरिएको हो।
सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माए बापत एक हजार राहतस्वरूप सहयोग र चार पटकसम्म नियमित गर्भ जाँच गराउनेलाई थप ४ सय रुपैयाँ दिने व्यवस्था गरेको छ। स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने सबै आमाहरुले रकम वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जसले गर्दा स्वास्थ्य संस्थामा पुगेर सुरक्षित रुपमा सुत्केरी सेवा लिनेहरुको संख्या बढेको हो।