
धुलाबारी- झापाका पहिलो सगरमाथा आरोही अनिश लुईंटेलले फेरि सगरमाथा आरोहण गर्ने बताएका छन्।
शुक्रबार झापाको धुलाबारीमा पत्रकार सम्मेलन गर्दै उनले यही चैत २५ गते सगरमाथाको आरोहण गर्ने बताए।
आरोहणका लागि आवश्यक तयारी आफूले गरिरहेको उनको भनाइ छ। उक्त आरोहणका लागि करिब २६ लाख नगद लाग्ने उनको अनुमान छ। जस्का लागि धेरै संघ संस्थाहरुले सहयोग गर्न बचन दिएको उनले जानकारी दिए।
२०७३ साल जेठ ८ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका २४ वर्षीय लुईंटेलले यस पटक भने चीन तर्फबाट आरोहण गर्ने बताएका छन्। उनी अमेरिकामा हुन लागेको २४ औं वर्ल्ड स्काउट जेम्बोरीको लोगो लिएर सगरमाथाको शिखरमा पुग्न लागेका हुन्।
उनले पहिलो पटक २०७२ साल बैसाखमा पनि सगरमाथाको आरोहणका लागि हिँडेका थिए। त्यो बेला विनाशकारी भूकम्पका कारण सर्वोच्च शिखरसम्मको यात्रा बाटोमै टुंगिएको थियो। त्यसबखत उनी क्याम्प टुसम्म मात्र पुग्न सफल भएका थिए। उनले आफ्नो अभियान सफल बनाइदिन सबैसँग आग्रहसमेत गरेका छन्।