
विर्तामोड– ४५ दिनभित्रमा तलब सुविधा बृद्धि गर्ने आश्वासन पाएपछि विगत तीन दिनदेखि हड्तालमा उत्रेका पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरका चालकले हड्ताल फिर्ता लिएका छन्।
हड्ताल फिर्ता भएसँगै पेट्रोलियम पदार्थ आपूर्तिका लागि ट्यांकरहरु शुक्रबार नै भारतको सिलिगुडीतर्फ लागेका छन्।
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाका अनुसार लकिङ प्रणालीको विरोध गर्दै आएका ट्यांकर चालकहरु अहिले आएर तलब बृद्धिमा सहमत भएका हुन्। कति तलब बढाउने भन्ने विषयमा अध्ययन गर्न कोइरालाको संयोजकत्वमा एक समिति बनेको छ।
लकिङ प्रणालीको विरोध गरेका चालकहरुको ‘चोर्न नपाएकोमा आन्दोलन’ भन्दै चौतर्फी आलोचना भएको थियो। हिजो नेपाल आयल निगमसँग भएको दुई चरणको वार्ता निष्कर्षमा पुगेको थिएन।